काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताएका छन् । अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको बताए । जनसंख्याका आधारमा भौतिक पूर्वाधारहरुको निर्माण गर्न जरुरी रहेको सिंहको भनाई छ । उनले भैरहवा र पोखरामा अन्तराष्ट्रिय विमानस्थलहरु बनेको तर प्रयोगमा आउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै, उनले भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको भन्दै अनुसन्धानको माग समेत गरेका छन् । भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगर्न पनि सांसद सिंहले आग्रह गरेका छन् ।
सांसद सिंहले नागरिक धेरै भएको ठाउँमा नै संरचनाहरु बढी बनाउँदा प्रयोग बढी हुने जिकिर गरेका छन् ।