काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले असार ३१ गते मंगलबारदेखि हकप्रद सेयर निष्काशन गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ ६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।
हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । तसर्थ, गत जेठ २१ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि अगामी साउन १९ गते सम्म आवेदन दिन पाउनेछन् ।
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले आरबीबी मर्चेन्ट बैंक सहित राष्ट्रिय वाणिज्य बैंकको विरगञ्ज, जनकपुर, नारायणगढ, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी, धरान, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सकिने छ ।