काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । काठमाडौँमा इप्पानको २३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
उनले लगानीका लागि आउने जोसुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने देउवाको भनाई छ ।
उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको पनि देउवाले बताएका छन् । यसका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउन जरुरी रहेको उनको भनाई छ । जलविद्युत आयोजनाहरुको आइपिओ निष्कासन रोक्नु गलत भएको र धितोपत्र बोर्डले चाँडै शेयर निष्कासन गर्ने पनि देउवाले बताएका छन् ।
‘सेयर निष्कासन रोकिएको कुरा सुनेँ । धितोपत्र बोर्डले चाँडै शेयर निष्कासन गर्नेछ ।’, उनले भने, ‘यसलाई रोक्नु हुँदैन भन्ने मान्यता छ ।’
त्यस्तै, देउवाले उर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पति भएको भन्दै ग्रीन इनर्जीमा बढी जोड दिन पनि आग्रह गरेका छन् । अर्कोतर्फ नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको पनि देउवाले बताएका छन् ।