काठमाडौँ । समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकमा राष्ट्र बैंकले गरेको इन्स्पेक्सनमै त्रुटि रहेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानबाट यस्तो खुलासा भएको हो ।
सीआईबीको अनुसन्धानबाट राष्ट्र बैंकका कर्मचारीले घुस खाएर बैंकभित्रको अनियमितता ढाकछोप गरेको फेला परेको छ ।
यस्तो कार्यमा राष्ट्र बैंकबाट अवकाश प्राप्त ६१ वर्षीय भुवन बस्नेत रहेको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार उनको खातामा कर्णाली डेभलपमेन्ट बैंकबाट १० लाख रुपैयाँ जम्मा भएको देखिएको छ । उनी राष्ट्र बैंकका तत्कालीन सहायक निर्देशक हुन् ।
यसरी बैंकभित्रको अनियमितता ढाकछोप गर्न घुस लिएको पाइएपछि सीआईबीले बस्नेतलाई पक्राउ गरेको छ । बस्नेत पक्राउ परेपछि सीआईबीले इन्स्पेक्सनमा गएका अन्य कर्मचारीमाथि पनि अनुसन्धान थालेको छ । बस्नेतसँगै उक्त कार्यमा अन्यको पनि संलग्नता हुनसक्ने सीआईबीको आशंका छ । सीआईबीले थप प्रमाण र अनुसन्धानका आधारमा राष्ट्र बैंकका अन्य कर्मचारीको पनि खोजी गरिरहेको छ ।
हाल समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले टेकओभर गरेको छ । बैंकका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष र वित्त प्रमुख सहितका व्यक्तिहरु थुनामा छन् । बैंकमा चार अर्ब ९० करोड रुपैयाँ हिनामिना भएको खुलेको छ ।