काठमाडौँ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गते (आज) देखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ५ करोड ६६ लाख रुपैयाँ बराबरको ५ लाख ६६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ । उक्त आईपीओमा तनहुँको बन्दीपुर गाउँपालिकाका सबै वडा, आबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका-१ तथा गोरखाको पालुङ्गटार नगरपालिका-७ का स्थानीयले आवेदन दिन सक्नेछन् ।
अर्कोतर्फ कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको ५ लाख २९ हजार ४ सय कित्ता सेयर जारी गर्न लागेको छ । सो आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेर रोजगारीका लागि विदेश गएका नेपालीहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि कम्पनीले केयर रेटिङ्ग नेपालबाट केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले कम्पनीको कार्यालय, तल्लो स्टेसन, बन्दीपुर गाँउपालिका-४, आँबुखैरेनी गाउँपालिकाको कार्यालय, भानु नगरपालिका-१ को कार्यालय र पालुङ्गटार नगरपालिका-७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सि आस्बा प्रणाली मार्फत वा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।