काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सेयर बजारसम्बन्धी एकदिने विशेष तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । शनिबार होटल सिद्धार्थमा आयोजित उक्त तालिममा २०० भन्दा बढी सहभागिहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
सेयर गुरु सुबास चन्द्र भट्टराईको प्रशिक्षणमा सम्पन्न सो तालिम बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन भएको थियो । तालिममा कर्णालीका विभिन्न गाउँ-बस्तीबाट आएका सहभागीहरूले सक्रिय सहभागिता जनाएका थिए ।
Nepalese Young Entrepreneurs’ Forum (NYEF) Surkhet Chapter को आयोजनामा सम्पन्न सो कार्यक्रमको मिडिया पार्टनर अर्थ सरोकार थियो भने इम्पेरियल सेक्युरिटिजले समेत कार्यक्रममा सहयोग गरेको थियो । फोरमका सुर्खेत च्याप्टरका अध्यक्ष कमल सुवेदीले यस्ता तालिमले कर्णाली प्रदेशका युवाहरुलाई इन्टरप्रनरशिप र लगानी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । फोरमका प्रथम उपाध्यक्ष राजेश बरालले कार्यक्रममा देखिएको उत्साहले आफुहरुलाई पनि उत्साहित बनाएको बताएका छन् ।
तालिममा सेयर बजारमा कसरी सुरक्षित ढंगले लगानी गर्ने ?, बजार विश्लेषण कसरी गर्ने ?, सेयर छनोट गर्ने उपाय, टेक्निकल र फन्डामेन्टल एनालाइसिस, तथा जोखिम व्यवस्थापनका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगीको प्रमुख आतिथ्यमा आयोजना भएको सो तालिममा उनले सेयर बजार सम्बन्धी तालिम सुर्खेतमा आयोजना हुनु उत्साहजनक काम भएको भन्दै आयोजकलाई धन्यवाद दिएका छन् ।
तालिमका सहभागीहरूले सेयर बजारप्रति आफ्नो बुझाइलाई थप प्रष्ट र व्यवस्थित बनाउन मद्दत पुगेको प्रतिक्रिया दिएका छन् । उनीहरूले तालिम उपयोगी, प्रेरणादायक र व्यवहारमा आधारित भएको बताउँदै आयोजक, प्रशिक्षक र साझेदार संस्थाप्रति आभार व्यक्त गरेका छन् ।
प्रशिक्षक भट्टराईले आगामी दिनमा पनि देशका विभिन्न स्थानमा यस्ता सचेतनामूलक तथा ज्ञानआधारित तालिम कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमले कर्णाली प्रदेशका नागरिकमा वित्तीय साक्षरताको विकास र सेयर बजारमा सक्रिय, जिम्मेवार तथा जानकार लगानीकर्ता उत्पादन गर्ने दिशामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।