काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋण चुक्ता गरिसकेको ऋणीलाईसमेत कालोसूचीमा राखेको पाइएको छ । व्यवसाय सञ्चालनका लागि भन्दै आँधीखोला मार्टका सञ्चालक दीपक श्रेष्ठले लिएको ऋण चुक्ता गरिसक्दा पनि बैंकको स्याङ्जास्थित वालिङ शाखाले ऋणीलाई कालोसूचीमा राखेको पाइएको हो ।
वालिङ नगरपालिका-९ स्थित आँधीखोला मार्टका सञ्चालक श्रेष्ठले बैंकको वालिङ शाखाबाट पाँच वर्षअघि व्यवसाय सञ्चालनका लागि भन्दै १ करोड ७० लाख रुपैयाँ ऋण लिएका थिए ।
तर, आर्थिक मन्दीका कारण केही किस्ता तिर्न ढिला भएको श्रेष्ठले स्वीकारेका छन् । किस्ता तिर्न केही ढिला हुँदा पनि आफू निरन्तर बैंकसँग सम्पर्कमा रहेको बताउँदै श्रेष्ठले गत पुषमा ऋणको केही रकम बैंकमा बुझाएको बताए । ‘आर्थिक मन्दी र व्यवसाय खासै नचल्दा केही किस्ता ढिलो भएको हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै श्रेष्ठले भने, ‘तर मैले गत पुषमा ऋणको केही रकम बैंकमा बुझाएको थिएँ र ऋण सेटलमेन्ट गर्दै थिएँ ।’
श्रेष्ठका अनुसार उनले २०८२ असार मसान्तभित्र बैंकको सबै ऋण चुक्ता गरेका थिए । तर, बैंकबाट लिएको सबै ऋण चुक्ता गरिसक्दा पनि आफूलाई २०८२ साउन पाँच गते कालोसूचीमा राखिएको श्रेष्ठले बताएका छन् ।
घरजग्गा सबै बेचेर बैंकको ऋण चुक्ता गर्दा पनि कालोसूचीमा नाम परेपछि बैंकले आफ्नो र व्यवसायको प्रतिष्ठा गिराउने काम गरेको श्रेष्ठले गुनासो गरेका छन् । ‘कालोसूचीमा नाम पर्नुले मेरो र मेरो व्यवसायको प्रतिष्ठामा आँच पुगेको छ । ऋण चुक्ता गर्दा पनि मलाई कालोसूचीमा राखेर बैंकले मेरो बदनाम गर्यो ।’, उनले भने, ‘यो दाग त जिन्दगीभरलाई हुन्न र ? घरबार सबै बेचेर ऋण तिर्दा त सुख पाउनुपर्यो नि, होइन ?’
त्यस्तै, कालोसूचीमा परिसकेपछि अब नयाँ कर्जा लिन, बैङ्क ग्यारेन्टी पाउन, कम्पनीको वित्तीय कारोबार गर्न र ठुला सम्झौतामा संलग्न हुनसमेत आफूलाई गाह्रो पर्ने श्रेष्ठको गुनासो छ ।
के भन्छ बैंक ?
यता बैंकका सूचना अधिकारी राजेश शर्माले भने यस्तो हुनुमा सिस्टमको त्रुटि भएको दाबी गर्छन् । उनका अनुसार बैंकको वालिङ शाखाले कालोसूचीको प्रक्रिया पहिला नै सुरु गरिसकेको थियो । कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्नु र ऋण सेटलमेन्ट हुनु एकैपटक हुँदा समस्या भएको शर्माले बताएका छन् ।
‘खासमा यो प्रक्रिया सबै म्यानुअल्ली नै हुने हो । बैंकमा ऋण चुक्ता गर्ने बित्तिकै कालोसूचीको प्रक्रिया रोकिने भन्ने हुँदैन ।’, शर्माले भने, ‘त्यही प्रक्रिया ढिला हुँदा भएर यस्तो भएको हो ।