काठमाडौँ । साउन २१ गतेदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ साउन २६ गते सकिएको छ । एक्स्पोको सुरुदेखि नै खासै उत्साह नदेखिएको नाइमाको एक्स्पो उत्साहरहित नै समापन भएको थियो ।
कमजोर व्यवस्थापन र फितलो तयारीका कारण नाइमाको एक्स्पो उत्साहजनक नरहेको व्यवसायीहरुले बताएका छन् । व्यवसायीका अनुसार विगतका अटो शोहरुमा जति पनि उत्साह नदेखिएको नाइमा एक्स्पोमा व्यापार पनि खासै उत्साहजनक देखिएन ।
‘संस्था नयाँ हो, नयाँले फरक ढंगबाट अटो शो गर्छ भन्ने लागेको थियो तर भएन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एक व्यवसायीले भने, ‘उत्साह पनि खासै देखिएन, व्यापार पनि भएन । राख्नकै लागि मात्र स्टल राखेको जस्तो भयो । व्यापार नै भएन भन्ने त होइन तर सोचेको भन्दा आधा मात्रै व्यापार भयो ।’
यसो त नाइमाको एक्स्पोमा सोचेजस्तो व्यापार नभएपछि आधा दर्जन बढी कम्पनी अर्कोपटक नाडामै फर्किने तयारीमा छन् । ‘यसपालि केही फरक होला र बिजनेश बढ्ला भन्ने अपेक्षा थियो ।’, एक व्यवसायीले भने, ‘तर सोचेजस्तो भएन । अर्कोपटक चाहिँ नाडामै फर्किने कि भन्ने तयारी पनि छ । नाडमा हुँदा यो भन्दा राम्रो बिजनेश हुन्थ्यो ।’
यसै पनि नाइमाको एक्स्पोमा नाम नै नसुनिएका कम्पनीहरुले पनि आफ्नो सहभागिता जनाएका थिए । तर, नाइमा मोबिलिटी एक्स्पो फ्ल्प भएपछि ती कम्पनीहरुको पनि हरिबिजोग भएको छ । यद्यपि केही बुकिङहरु हुँदा सास फेर्न पाएको व्यवसायीहरुले बताएका छन् ।