काठमाडौँ । पछिल्लो एक महिनामा मात्र विदेशबाट १ सय ७४ नेपालीको शव नेपाल ल्याइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांक अनुसार साउनमा मात्र १ सय ७४ जना नेपालीको शव ल्याइएको हो ।
कार्यालयका अनुसार हरेक दिन विदेशबाट ४ देखि ५ जना नेपालीको शव नेपाल आउने गरेको छ ।
यसरी काम गर्न भन्दै विदेश गएर विभिन्न कारण मृत्यु हुनेहरुमा कुवेत, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, कतार लगायतका देशमा पुगेका नेपालीहरु रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
प्रहरीको तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि भन्दै विभिन्न मुलुक पुगेर मृत्यु हुने नेपालीको संख्या एक हजार ४ सय १ रहेको छ । अघिल्लो आर्थिक वर्षमा भने वैदेशिक रोजगारीमा गएका एक हजार ४ सय ५५ जनाको मृत्यु भएको थियो ।