काठमाडौँ । महालक्ष्मी विकास बैंकको २ करोड ८५ लाख रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका चार जना कर्मचारीमाथिको अनुसन्धान अझै सकिएको छैन । अनुसन्धान नसकिएपछि प्रहरीले पुनः म्याद थप गर्ने तयारी गरेको छ ।
बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखामा कर्मचारीकै मिलेमतोमा भल्टको पैसा वान एक्स बेटमा लगाएको खुलेपछि प्रहरीले सो शाखाका चार जना कर्मचारीलाई पक्राउ गरेको थियो ।
प्रहरीले बैंकको गोकुलेश्वर शाखाका तत्कालीन शाखा प्रबन्धक सागर शाही, नगद विभागकी कर्मचारी निर्मला साउँद, ग्राहक सहायक कक्षमा कार्यरत अम्बादत्त पन्त र कर्जा विभागका कर्मचारी धनन्जय पन्तलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई सुरुमा ७ दिनको म्याद थप गरिएको थियो ।
सात दिनमा अनुसन्धान नसकिएपछि उच्च अदालत महेन्द्रनगर इजलासबाट पुनः ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरेको थियो । तर, उक्त सात दिनमा पनि अनुसन्धान नसकिएपछि प्रहरीले पुनः म्याद थप्ने तयारी गरेको छ । म्याद थपका लागि फाइल उच्च अदालत महेन्द्रनगर इजलास पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले अर्थ सरोकारलाई जानकारी दिएका छन् ।
डिएसपी दहालका अनुसार फाइल महेन्द्रनगर पठाइसकिएको छ । ‘म्याद थपका लागि फाइल महेन्द्रनगर पठाएका छौँ । भोलि (सोमबार) अदालतमा पेश हुन्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै डिएसपी दाहालले भने, ‘कति दिन म्याद थप हुन्छ वा के हुन्छ ? अदालतमा पेश गरेपछि नै थाहा हुन्छ ।’
प्रहरीले गरेको हालसम्मको अनुसन्धानले पनि उनीहरुले आपसी मिलेमतोमा भल्टको पैसा अवैध रुपमा चलाएको देखाउँछ । यद्यपि थप अनुसन्धान बाँकी रहेको प्रहरीले जनाएको छ । सो प्रकरणमा पक्राउ परेका चारैजना कर्मचारीलाई बैंकले निलम्बन गरिसकेको छ भने हाल उक्त शाखामा नयाँ कर्मचारी खटाएर काम सञ्चालन भइरहेको छ ।