काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्रि-आइपिओलाई गैरकानूनी भनेको छ । सोमबार ‘प्रि-आइपिओ नाम दिई सर्वसाधारणलाई सेयर बिक्री नगर्ने/नगराउने सम्बन्धी सूचना’ जारी गर्दै बोर्डले त्यस्तो कार्यलाई गैरकानूनी भनेको हो ।
बोर्डले प्रि-आइपिओ सम्बन्धी प्रचलित कानूनमा कुनै पनि व्यवस्था नरहेको पनि स्पष्ट पारेको छ ।
तर, केही कम्पनीहरुले निकट भविष्यमा आइपिओ सार्वजनिक गर्ने भन्दै सेयर खरिद गर्न प्रस्ताव गरी अनधिकृत रुपमा पैसा उठाइरहेका थिए । त्यसबारे सेयर लगानीकर्ताले बोर्डमा उजुरी समेत गरेका थिए ।
अन्ततः बोर्डले सूचना नै जारी गरेर प्रि-आइपिओका नाममा सेयर बिक्री गर्ने कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ विपरीत भएको यस्तो गर्नू दण्डनीय काम भएको पनि बताएको छ । त्यस्तै, बोर्डले प्रि-आइपिओका नाममा पैसा उठाउने काम बन्द गर्न पनि अनुरोध गरेको छ ।
बोर्डले प्रि-आइपिओका नाममा सेयर बेच्ने र पैसा उठाउने कार्यलाई गैरकानूनी भनिदिएपछि प्रि-आइपिओका नाममा विभिन्न कम्पनीको सेयर खरिद गर्ने सर्वसाधारणको अर्बौं रकम फस्ने पक्का देखिएको छ । यसरी प्रि-आइपिओका नाममा सेयर भिडाउने कम्पनीहरुको पनि आइपिओ आउने सम्भावना साह्रै न्यून देखिएको छ । यसले लगानीकर्ताको पैसा झन् जोखिममा पारेको छ ।