काठमाडौँ । रसुवा र धादिङ जिल्लाको सिमानामा अवस्थित अपर मैलुङ खोलामा निर्माणधीन अवस्थामा रहेको ६.४२ मेगावाट क्षमताको अपर मैलुङ खोला ‘ए’ जलविद्युत आयोजनामा सेयर लगानी गर्दा आफूहरु ठगिएको आरोप यौनिक तथा अल्पसंख्यक समुदायका सदस्यहरुले लगाएका छन् । उनीहरुले ब्लु डाइमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष पिंकी गुरुङ (संजिव) र अपर मैलुङ हाइड्रो पावर कम्पनीमाथि यस्तो आरोप लगाएका हुन् ।
सोसाइटीका सदस्यहरुले हाइड्रोपावरमा सेयर लगानी गरिदिने भन्दै गुरुङले समुदायका व्यक्तिहरुमार्फत रकम उठाएर हिनामिना गरेको आरोप लगाएका छन् ।
तत्कालीन अध्यक्षको समन्वयमा प्रवर्द्धक कम्पनीसँगको छलफलपछि हाइड्रोपावरमा सेयर लगानी गरेबापत राम्रो मुनाफा आउँछ भनेकाले आफुहरुले त्यसमा लगानी गरे पनि हालसम्म कुनैपनि मुनाफा नपाएको बताएका छन् । पीडित पक्षको प्रतिनिधित्व गर्दै ब्लु डाइमन्ड सोसाइटीका संस्थापक अध्यक्ष सुनिलबाबु पन्तले विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडमार्फत इनर्जी इन्जिनियरिङ लिमिटेड प्रर्वद्धक रहेको अपर मैलुङ खोला ‘ए’ जलविद्युत आयोजनामा शेयर लगानी गरिदिने भन्दै सोसाइटीका सदस्यहरुसँग तत्कालीन अध्यक्ष गुरुङको सल्लाहमा रकम उठाएको र दुरुपयोग भएको आशंका व्यक्त गरे ।
गुरुङले सदस्यहरुमार्फत उठाएको उक्त रकम हाइड्रो पावर कम्पनीको शेयरमा लगानी गरिदिएको भनिएपनि कतिपयलाई प्रमाण पत्र नै नदिएको र प्रमाण पत्र पाएकाहरुकोमा पनि कम्पनीको अध्यक्षको हस्ताक्षर नभएकाले रकम हिनामिना भएको हुनसक्ने उनले बताए ।
यसो त सोसाइटीका एक सदस्यले इनर्जी इन्जीनियरिङ कम्पनीको ४०० कित्ता संस्थापक सेयर खरिद गरेको देखिन्छ । उक्त शेयर खरिद गरेबापत ती सदस्यले कम्पनीलाई ४० हजार रुपैयाँ बुझाएका छन् । तर, कम्पनीले रकम बुझेको उक्त प्रमाण पत्रमा अध्यक्षको हस्ताक्षर देखिएको छैन । त्यसैले पनि उक्त हाइड्रो पावर कम्पनी नक्कली भएको हुनसक्ने पन्तको दाबी छ । उक्त रकम वास्तविक रुपमा जलविद्युत आयोजनामा लगानी भएको हो वा होइन भन्ने कुराको यकिन नभएकाले समुदायका व्यक्तिहरुको रकम हिनामिना भएको हुनसक्ने पन्तको बुझाइ छ ।
यद्यपि सोसाइटीकी तत्कालीन अध्यक्ष गुरुङले भने समूदायका व्यक्तिहरुसँगै आफुले पनि व्यक्तिगत रुपमा १ लाख १० हजार रुपैयाँ उक्त हाइड्रोपावरको सेयरमा लगानी गरेको बताएकी छन् । उक्त प्रकरणमा पीडितहरुले कम्पनीविरुद्ध नभइ गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गराएका छन् ।
करिब सात वर्षअघि नयाँ शक्ति पार्टीमा आवद्ध भइ प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारसमेत बनेकी गुरुङले रसुवाका युवा नेता प्रेम तामाङको प्रस्तावमा विवेकशील संस्थामार्फत समुदायका व्यक्तिहरुसँग सामूहिक छलफल गरेर आर्थिक उपार्जनका लागि हाइड्रो पावरको सेयरमा लगानी गरिएको बताइन् । आफुलाई हाइड्रो पावरको सेयरमा लगानी गर्ने विषयमा खासै जानकारी नभएको बताउँदै उनले पार्टी अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसाला यमीको समेत सुझाबमा यस्तो कदम लिएको बताएकी छिन् ।
उनको संस्थाका सदस्यहरुबाट जम्मा भएको रकम जमलस्थित बिभोर बैंकमा रहेको हाइड्रोपावरको खातामा जम्मा गरेको र सात वर्ष बितिसक्दा पनि परियोजना अगाडि बढ्न नसक्दा सेयर प्रमाणपत्र नदिएको भन्दै केही व्यक्तिहरुले आफुमाथि शंका व्यक्त गर्दै ठगीको आरोप लगाएको उनको दाबी छ । ‘साथीहरुलाई सानो भएपनि सहयोग पुगोस, भविष्यमा आर्थिक रुपले राम्रो होस भनि पवित्र उद्देश्यले प्रोत्साहित गरेको हुँ । सोसाइटीमा रोजगारीमा रहेका सदस्यहरुबीच साझा सहमतिमा लगानी भएको हो । तर अहिले निहित स्वार्थी व्यक्तिहरुको उक्साहटमा समूदायभित्रै फाटो ल्याउनेगरी मुद्दा मामिला गरिरहनुभएको छ ।’, उनले भनिन्, ‘पैसा उठाएको एवम दुरुपयोग गरेको लिखित र सबुद प्रमाणविना दौडिरहनुभएको छ । अर्थात आपसी सल्लाह बमोजिम असन्तुष्टिहरुको सम्बोधन हुने प्रशस्त आधारहरु हुँदाहुँदै कुनै व्यक्तिको लहडमा मेरो प्रतिष्ठा र इज्जतलाई धमिल्याउने प्रयास भइरहेको छ । यसले समाधान दिंदैन ।’
जिल्ला प्रहरी परिसर काठमाडौँमा पीडित पक्षले ठाडो उजुरी दिएको र सोमबार प्रहरी, पीडित पक्ष र हाइड्रो पावर सञ्चालक बिच छलफल भएको थियो । उक्त छलफलमा दुबै पक्षबीच समझदारी भइसकेको र विवाद सल्टिएको जानकारी पाएको प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरिक्षक अपिलराज बोहराले बताएका छन् । तर, छलफलमा सहभागी भएका समूदायकाका व्यक्तिहरुले कुनै निष्कर्ष ननिस्किएको उनले बताएका छन् ।
के भन्छन हाइड्रोपावर प्रवर्द्धक ?
यता अपर मैलुङ हाइड्रोपावरका प्रबन्ध निर्देशक जितमान शेर्पाले भने कम्पनी नक्कली भएको र रकम हिनामिना भएको दाबी पूर्ण रुपमा गलत भएको बताएका छन् । ‘हामीले सेयर बेचेको कुरा साँचो हो । सरकारी वकिल कार्यालयमा मुद्दा परेको भन्ने सुनेको छु ।’, उनले भने, ‘उहाँहरुले पैसा हालेकै हो, हामीले प्रमाणपत्र दिएकै हो । हाम्रो प्रोजेक्ट त्यहाँ छँदैछ, कम्पनी छँदैछ ।’
त्यस्तै, उनले आफूले नै हस्ताक्षर गरेर रकम बुझेकोले प्रहरी र सरकारी वकिलले बोलाए कम्पनीको सबै प्रमाणसहित उपस्थित हुने बताएका छन् । बिना प्रमाण कसैलाई आरोप लगाउँदा मानहानीमा जान्छ भन्ने कुराको हेक्का राख्न समेत उनले आग्रह गरेका छन् । साथै, ९५ प्रतिशत काम सकिएको कम्पनीलाई फेक भनेर प्रहरीमा उजुरी गर्नेहरुलाई नै आफूले मुद्दा हाल्न सक्ने चेतावनी पनि उनले दिएका छन् ।
शेर्पाका अनुसार उनीहरुले कम्पनीमार्फत प्राप्त गरेको सेयर संस्थापक सेयर हो । लगानीकर्ताले यस्तो खालको सेयर बिक्री गर्नका लागि हाइड्रोपावरबाट बिजुली उत्पादन भएको तीन वर्षसम्म कुर्नुपर्ने हुन्छ । कम्पनी अहिले आईपीओमा जाने प्रक्रियामा रहेको छ ।
के भन्छन पीडित ?
सोसाइटिकी तत्कालीन अध्यक्ष पिंकी गुरुङले इनर्जी इन्जीनियरिङ हाइड्रोपावरमा सेयर लगानी गरेबापत आर्थिक रुपमा राम्रो हुने सुझाव दिएकाले आफुहरुले त्यसमा लगानी गरेको सोसाइटीकै सदस्य रामेश्वर (नामपरिवर्तित)ले बताए । गुरुङले नै समन्वय गरेर ‘भविष्यमा मुनाफा आउँछ, तपाइँहरुले आ–आफ्नो हिसाबले लगानी गर्नुहोला’ भनेपछि त्यसमा पैसा लगानी गरिएको उनले बताएका छन् ।
त्यस्तै, अर्का पीडित कामेश्वर (नाम परिवर्तन) ले पनि आफूले हाइड्रोपावरको सेयर किन्न ४४ जार रुपैयाँ बुझाएको बताए । ‘मैले ४४ हजार रुपैयाँ बुझाएको भए पनि उहाँहरुले ४० हजारको मात्रै प्रमाणपत्र दिनुभएको छ । प्रतिकित्ता ११० को दरले भन्नु भएको थियो तर प्रतिकित्ता १० रुपैयाँ बराबरको पैसा कहाँ गयो त्यो त थाहा भएन् ।’, उनले भने, ‘तर रसिद चाहिँ ४० हजारको मात्रै छ । मैले ब्लु डाइमण्डकै फाइनान्स अफिसरलाई पैसा बुझाएको हो । त्यसबेला हामीलाई पैसा बुझाए बापतरसिद मात्र दिइएको थियो तर अहिले एक वर्षजति भयो शेयरधनी प्रमाण पत्र पाएको । थुप्रैजनासँग यसरी पैसा उठाइएको छ कतिपयले पैसा छैन भनेर बुझाएनन् । मैले चाहिँ शेयरमा लगानीगर्दा घाटा हुँदैन फाइदा नै हुन्छ भनेर बुझाएको हुँ ।’
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अर्का सम्योग (नाम परिवर्तन) ले पनि गुरुङकै मध्यस्थतामा हाइड्रोपावरमा लगानी गर्ने भनेर रकम उठाइएको बताए । ‘सन् २०१७ को नोभेम्बर महिना तिरको कुरा हो । त्यसबेला नयाँशक्ति पार्टीका संस्थापक संयोजक बाबुराम भट्टराई वल्र्ड टे«ड सेन्टरमा कार्यक्रम गर्नुभएको थियो । त्यसबेला उनकी पत्नी हिसीला यमीलगायत पिंकी गुरुङ पनि अतिथिको रुपमा हुनुहुन्थ्यो ।’, उनले भने । ‘हामीलाई पनि त्यहाँ बोलाइएको थियो, पछि भट्टराईले समुदायका मान्छेलाई हाइड्रोपावरमार्फत आर्थिक आम्दानी गराउने भन्दै गुरुङले मध्यस्थता गरेर समुदायका साथीहरुसँग हाइड्रो पावरमा शेयर हाल्नका लागि आकर्षित गर्नुभएको हो । हाम्रो साथीहरुले पनि आफ्नो इच्छा चाहना र क्षमता अनुसार पैसा बुझाएका हुन् ।’
(नेपाल न्युज बैंक)