काठमाडौँ । नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशिला कार्कीको प्रेम र विवाहको कथा रोचक छ । उनका पतिको नाम दुर्गा सुवेदी हो, जो कुनै बेला सक्रिय राजनीतिमा थिए ।
दुर्गा र सुशिलाको विवाह २०४५ सालमा भएको हो । उनीहरुको विवाह प्रेम विवाह हो ।
विराटनगरमा सुशिला सम्पन्न परिवारकी छोरी थिइन् । दुर्गा विराटनगरमा जागिरका लागि आउँदा सुशिलाकै घरमा बसेका थिए । सुशिला जनता हाइस्कुलमा पढाउँथे, त्यहीँ स्कुलमा सुशिला ६ कक्षामा पढ्थिन् । सुशिलाका बुवा काँग्रेसको सक्रिय कार्यकर्ता थिए । सुशिलाले एसएलसी सकेपछि रामचन्द्र पौडेल नेपाल विद्यार्थी संघको कामले आउँदा दुर्गालाई सुशिलालाई देखाउँदै नेवि संघमा संगठित हुन भने । त्यसपछि दुई जनाको सम्पर्क बढ्यो ।
प्लेन हाईज्याक केसमा परेपछि दुर्गा भागेर भारत गए । थप पढ्न सुशिला पनि बनारस गइन् । दुवै काँग्रेससँग नजिक भएकाले कुराहरु भइरहन्थ्यो ।
पछि दुर्गा भारतको जेलमा पर्दा सुशिला उनलाई भेट्न जेल गएकी थिइन् । घर फर्किंदै गर्दा ‘माया लाग्यो, एक पटक भेटेर जाऔँ’ न भनेर सुशिला दुर्गालाई भेट्न गएकी थिइन् । त्यसको दुई वर्षपछि भारतको जेलबाट छुटेर दुर्गा बिराटनगरमा आए । तर, सुशिलाको परिवारले त्यहाँ बस्न अव उनलाई नदिने जस्तो कुरा गर्यो । त्यति बेला दुर्गासँग बस्ने बास पनि भएन, साथमा पैसा पनि भएन । त्यसको केही समयपछि सुशिला आएर खर्च भनेर दुर्गालाई ५ सय रुपैयाँ दिइन् । दुर्गालाई आफुलाई बुझिदिने कोहि त रहेछ भन्ने लाग्यो ।
कुराहरु हुँदै थिए । सुशिला धेरै बोल्दिनथिइन् । एक दिन कुरै कुरामा दुर्गाले सुशिलालाई जिस्काईदिए- ‘पढाइ पनि सक्काउनुभयो, अब घरजम गर्नुपर्दैन ?’ सुशिला नबोली हिँडिन् ।
त्यतिबेलासम्म सुशिला वकिल भइसकेकी थिइन् । राम्रो वकालत गर्थिन् । राम्रो कमाउँथिन् पनि । आफ्नै कमाईले धरानमा सानो घरसमेत बनाइन् । एक दिन सुशिलाले दुर्गालाई भेटेर, धरानमा आफूले घर बनाएको र त्यहीं बस्दा हुन्छ भनिन् । तर के भनेर उनको घरमा बस्ने, दुर्गालाई अप्ठ्यारो लाग्यो । समाजले के भन्ला भन्ने पीर भयो । तर धरान जाँदा दुर्गा सुशिलालाई पैसा माग्थे, सुशिला केही नभनी दिन्थिन् ।
एक त दुर्गासँग केही थिएन, त्यसमाथि जात मिल्दैनथ्यो, जुन त्यो बेला विवाहका लागि एउटा ठुलो विषय हुन्थ्यो । कता कता मन परे पनि दुर्गाले भन्न सकेनन् । एक दिन काँग्रेस नेतृ सैलजा आचार्यले सुशिलालाई विवाहको प्रस्ताव गर, राम्री पनि छिन्, पढेलेखेकी छिन्, तिमीसँग मान्छिन् पनि भनेको याद छ दुर्गालाई । तर दुर्गालाई त्यतिको विश्वास थिएन ।
मनमा माया पलाईसकेको थियो । एक दिन धरान जाँदा दुर्गाले सुशिलालाई कति यसरी बस्नु, अव स्थायी ढंगले बस्नु पर्यो भनेर घुमाउरो पाराले विवाहको प्रस्ताव गरे । तर सुशिलाले केही नभनेपछि दुर्गा निराश भए । घर छैन, बस्ने ठाउँ छैन भन्ने बोध पनि भयो दुर्गालाई । यहि बीचमा साथीसँग जग्गा मागेर सानो टिनको छाप्रो बनाए दुर्गाले । त्यसपछि दुई जनाको आउजाउ सुरु भयो । घरमा थाहा पाएपछि घरकाहरु रिसाएको याद छ दुर्गा र सुशिलालाई ।
माया बस्दै गयो । तर प्रेम अव्यक्त नै रहिरह्यो । एक दिन दुर्गाले अव त विहे गर्नुपर्छ तपाईंको विचार के छ भनेर सुशिलालाई सोधे । सुशिलाको जवाफ नआउदै फेरी दुर्गाले तपाईंको परिवारले मान्दैन होला भने ।
लगत्तै सुशीलकाले परिवारले हो र विहे गगर्ने ? भनिन् । त्यसपछि त दुर्गाले कुरा बुझिहाले, लभ स्टोरी अघि बढीहाल्यो नि ।
पछि अर्को एक दिन दुर्गाले सुशिलासँग विवाहको प्रस्ताव गरे । सुशिलाले हुन्छ भन्ने आशय देखाएर मौन बसिन् । त्यसपछि बिरातनगरकै एउटा रेष्टुरेन्टमा विवाह तय भयो । मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, नोना कोइरालालगायत विवाहमा आएका थिए । मंगलसूत्र र सिन्दुर पनि सुशिलाले नै लगिन्, दुर्गाले लगाईदिए, सबैले ताली पड्काए । विवाहपछि तीन दिन जति दुर्गाकै घरमा दुई जना बसे । घरमा खासै केहि पनि थिएन । काँग्रेस नेतृ शैलजाले एक बोरा भाँडाकुँडा ल्याईदिएपछि त्यो बेला गर्जो टर्यो । पछि सुशिला धरान काममा फर्कीइन् ।
लामो समय उनीहरु श्रीमान् कता श्रीमती कता भएर बसे । यो काम गराईको बाध्यता थियो । छोराछोरी जन्मे, हुर्के, तर छोरा बुवासँगै बढी बसे ।
सुशिलाले एउटा भ्रष्टाचारसम्बन्धी मुद्दाको ऐतिहासिक फैसला दिएपछि उनलाई ‘तपाईंलाई यो धर्तीमा हिँड्नु छैन’ भन्नेसम्मका धेरै धम्की आए । सुशिलासँग सँगै बसेर कुरा गर्ने मान्छे पनि भएन । एक दिन श्रीमानलाई फोन गरेर सुशिलाले ‘फूलमाला चढाउन मात्रै आउने हो, के त्यस्तै इच्छा राख्नुभएको हो’ भनेर गाली गरिन् । त्यसपछि दुर्गा पनि यतै आए । अहिले दुवै सँगै बस्छन् ।