×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘व्यवसायले पश्चिमबाट पूर्व पुर्यायो, आन्दोलनले करोडबाट शून्यमा झारिदियो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘व्यवसायले पश्चिमबाट पूर्व पुर्यायो, आन्दोलनले करोडबाट शून्यमा झारिदियो’

सुदर्शन श्रेष्ठ

५ आश्विन २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशमा ठूलो राजनीतिक परिवर्तन त ल्यायो । तर, आन्दोलनले भर्खर उठ्न खोज्ने र उठेका व्यवसायीलाई भने थिलोथिलो पारिदियो । 

आन्दोलनका क्रममा भाटभटेनीसँगै विभिन्न व्यापारिक भवनहरुमा तोडफोड, आगजनी र लुटपाट भयो । त्यसबाट काठमाडौँको गोंगबुस्थित लोत्से मल पनि अछुतो रहेन । भदौ २४ गते प्रदर्शनकारीले लोत्से मलमा पनि आक्रोशको आगो झोसे । हेर्दाहेर्दै लोत्से मलमा विभिन्न व्यापारिक सटरहरु क्षणभरमै खरानी भए ।

उक्त घटनापछि अहिले व्यापारीहरु ठूलो संकटमा परेका छन् । जसमध्येका एक हुन् २८ वर्षीय कृष्ण चापागाइँ । उनको लोत्से मलमा ‘फर यू’ नामक फेन्सी पसल थियो । सो पसल उनले ४ वर्षअघि मात्रै खोलेका थिए । धनगढीबाट व्यवसाय गर्न भन्दै काठमाडौँ आएका उनी हाल आन्दोलनले सबै सखाप पारेपछि पीडामा छन् । 

चापागाइँ सो दिन (भदौ २४) गते पसलमै थिए । जेनजी आन्दोलनले उग्र रुप लिँदै थियो । बसपार्क क्षेत्र आन्दोलनकारीले भरिएको थियो । त्यहीबेला एउटा समूह हल्ला गर्दै लोत्से मल छिर्यो । आँखै अगाडि मलमा आगो लगाएर फरार भयो । 

‘हामी पसलमै थियौँ । जेनजी भन्दै आएका केही ट्यापेहरुले मलमा आगो लगाइदिए ।’, उनले भने, ‘हेर्दाहेर्दै आगो थप फैलिन थाल्यो ।’ 

चापागाइँ र उनका केही साथीहरु मिलेर पसलबाट सामान झिक्न थाले । तर, कालो धूँवाको मुस्लोसहित फैलिएको आगोले धेरै सामान जोगाउन नसकेको उनी बताउँछन् । ‘पसलमा करिब ९५ लाख रुपैयाँ बराबरको सामान थियो ।’, उनले भने, ‘झण्डै १० देखि १५ लाखजतिको मात्र सामान निकाल्यौँ । ८० लाखको सामान जलेर खरानी भयो ।’ 

उमेरले उनी आफैँ जेनजी हुन् । तर, जेनजी आन्दोलनकै कारण करोडको व्यापार शून्यमा पुगेको चापागाइँ बताउँछन् । ‘उमेरले भर्खर २८ वर्ष भएँ । विदेश जाँदिन बरु नेपालमै केही गर्छु भनेर व्यवसाय सुरु गरेँ ।’, उनी भन्छन्, ‘तर अहिले व्यवसाय नै बाँकी रहेन ।’

आन्दोलनका क्रममा पसल जलेर खरानी भएपछि उनी अहिले राहतको पर्खाइमा छन् । उनले यही स्थितिमा अब फेरि सुरुवात गर्न नसकिने बताएका छन् । उनी भन्छन्, ‘अब बाँकी केही रहेन । यही स्थितिमा फेरि उठ्न गाह्रो छ । राज्यको ध्यान गएर केही राहत मिले सहज हुन्थ्यो ।’

यसो त चापागाइँको व्यवसाय छोड्ने रहर छैन । राज्यबाट राहत मिले फेरि व्यवसाय स्थापित गर्ने मनसायमा छन् उनी । तर, राहत पाइएला भन्ने आश उनमा निकै कम छ । ‘आश त छैन तर हामी व्यवसायीको मर्का कसैले बुझिदियोस् भन्ने चाहेको छु ।’, उनले भने, ‘गुहार्नुपर्ने ठाउँ गुहारेको छु । हेरौँ के हुन्छ ?’

व्यवसाय गर्नकै लागि धनगढी छोडेर काठमाडौँ पुगेका उनी अहिले आन्दोलनका क्रममा लगाइएको आगोले पसल खरानी भएपछि उनी झन् तनावमा परेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी