काठमाडौँ । नेपाल ट्रस्टको जग्गा प्रकरणमा ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन् । ट्रस्टको जग्गा यति होल्डिङ्स अन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिने सम्झौतामा हस्ताक्षर गर्ने कार्कीलाई पक्राउ गरिएको हो ।
तर, सचिवस्तरीय निर्णयबाट ट्रस्टको जग्गा लिजमा दिने सम्झौता भए पनि उक्त कार्यमा ट्रस्टका अध्यक्ष र संरक्षकसम्मको मिलेमतो हुनसक्ने आधार भेटिएको सीआईबीका अधिकारीको भनाई छ ।
यसो त ट्रस्टको संरक्षक प्रधानमन्त्री र अध्यक्ष गृहमन्त्री हुने व्यवस्था थियो । २०७३ असार १४ गते ट्रस्टको जग्गा लिजमा लगाउने बोलपत्रको सूचना जारी हुँदा केपी शर्मा ओली प्रधानमन्त्री थिए भने माओवादी नेता शक्तिबहादुर बस्नेत गृहमन्त्री थिए ।
पछि २०७४ वैशाख ५ गते थामसेर्कुको प्रस्ताव स्वीकृत हुँदा र सोही वर्ष जेठ १४ मा सम्झौता हुँदा पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री र काँग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री थिए । ट्रस्टको जग्गा सस्तोमा लिजमा दिने प्रकरणमा पूर्व नेतृत्वको पनि मिलेमतो भएको आशंकामा सीआईबीले अनुसन्धान अघि बढाएको छ । अनुसन्धान प्रचण्ड र ओलीसम्मै पुग्ने देखिएको सीआईबी अधिकारीले बताएका छन् ।
यसो त उक्त प्रकरणमा यसअघि नै प्रहरीदेखि अख्तियारसम्म उजुरी परेको थियो । उजुरीमाथि प्रहरीले कारवाही अघि बढाएको थिएन भने अख्तियारले उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो । हाल सीआईबीले उक्त प्रकरणमाथि अनुसन्धान पुनः सुुरु गरेको छ । शीर्ष नेतृत्वको मिलेमतोको प्रमाणहरु फेला भएको भन्दै अनुसन्धान तिव्र पारिएको सीआईबी अधिकारीले बताएका छन् ।













