काठमाडौँ । गरिमा विकास बैंकले गरिमा रोड रेसको दोस्रो संस्करण ‘गरिमा रोड रेस-२०८२’ आयोजना गर्ने भएको छ । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ मंसिर ६ गते गरिमा रोड रेस कार्यक्रम आयोजना गर्ने भएको हो ।
बैंकले गत वर्षदेखि शुरु गरेको उक्त प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ समेत ५ किलोमिटरको हुनेछ ।
गत वर्ष खुला र कर्पोरेट विधामा मात्र रोड रेस प्रतियोगिता आयोजना भएकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरूलाई समेत समेट्ने उद्देश्यले भेट्रान विधा समेत थप गरिएको छ ।
करिब एक हजार जना प्रतियोगी सहभागी हुने अपेक्षा रहेको गरिमा रोड रेस-२०८२ मा सहभागी प्रतियोगीहरुमध्ये खुलातर्फको दुवै समूहको विजेताले ५० हजार र कर्पोरेट र भेट्रान तर्फ जनही ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, खुला तर्फ दोस्रो स्थान हासिल गर्नेले ३५ हजार, तृतीय स्थान हासिल गर्नेले २० हजार, चौथो स्थान हासिल गर्नेले १५ हजार र पाँचौ स्थान हासिल गर्नेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी, कर्पोरेट र भेट्रान तर्फ दोस्रो स्थान हासिल गर्नेले जनही २० हजार, तृतीय हुनेले १४ हजार, चौथो हुनेले १० हजार र पाँचौ हुनेले ७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बालुवाटार, काठमाडौँ स्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय रहने भवन परिसरबाट सुरु हुने रोड रेस प्रतियोगिताको खुला तर्फको प्रतिस्पर्धा बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन पुगेर पुन: सोही बाटो हुँदै बालुवाटार पुगे पश्चात समापन हुनेछ । त्यसैगरी कर्पोरेट र भेट्रान तर्फको प्रतिस्पर्धा सोही स्थानबाट शुरु भई बाँसबारी स्थित न्युरो अस्पताल पुगेर पुन: सोही बाटो बालुवाटार पुगे पश्चात समापन हुनेछ ।
प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । इच्छुक धावकहरूले प्रतियोगितामा २०८२ कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत रु.२० शुल्क तिरी रजिस्ट्रेशन गर्न सक्नेछन् । प्रतियोगिता सम्बन्धी थप जानकारीको लागि विकास बैंकको कल सेन्टर ०१–५९७०१७९ मा समेत सम्पर्क गर्न सकिनेछ ।
गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठ सहित कुल ६५० प्रतिस्पर्धीको सहभागिता रहेकोमा यस वर्ष समेत प्रतियोगीहरूको उल्लेख्य सहभागिता हुने विकास बैंकले विश्वास लिएको छ ।













