काठमाडौँ । दुर्गा प्रसाईंले सरकारी कर्मचारीको तलब एक लाख पुर्याउन माग गरेका छन् । बुधबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको वार्ताका क्रममा प्रसाईंका प्रतिनिधिले सरकारसँग यस्तो माग गरेका हुन् ।
उनीहरुले गृहमन्त्रीलाई बुझाएको २७ बुँदे मागपत्रमा पनि सो माग समावेश गरिएको छ ।
मागपत्रको बुँदा २२ मा प्रहरी, सेना, निजामती कर्मचारी र शिक्षकको तलब एक लाख रुपैयाँ हुनुपर्ने माग गरिएको छ । ‘निजामती कर्मचारी, प्रहरी, सेना र शिक्षककको मासिक तलब न्यूनतम एक लाख रुपैयाँ हुनुपर्नेछ ।’, मागपत्रमा भनिएको छ ।
त्यस्तै, सोही बुँदामा जीवन निर्वाहका लागि पर्याप्त तलब हुँदासमेत भ्रष्टाचारमा संलग्न भएको पाइए जागिरबाट निकाली आजीवन कारावासको कानून निर्माण गर्न पनि प्रसाईं समूहले सरकारसँग माग गरेको छ ।













