काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । निगमको महाप्रबन्धक नियुक्तिका लागि बनेको छनौट समितिले बिहीबार एक सूचना जारी गर्दै इच्छुक उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको हो ।
आवेदन सूचना जारी भएको १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारमा दिनुपर्नेछ ।
निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्तिक ७ गते कार्यकाल सकिएपछि निगम नेतृत्वविहीन छ । निगम नेतृत्वविहीन भएपछि प्रधानमन्त्री सुशीला कार्कीले कार्तिक १४ गते पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छनोट समिति गठन गरेकी थिइन् ।
उक्त समितिलाई एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छान्न समय दिइएको थियो । तर, छनोट समितिको एउटा पनि बैठक बस्न नसकेपछि प्रधानमन्त्रीले मैनालीसँग कार्तिक २५ गते स्पष्टिकरण सोधेकी थिइन् । लगत्तै निगमले हाल सूचना जारी गरेर दरखास्त आह्वान गरेको छ । प्रधानमन्त्री कार्कीले निगममा भ्रष्ट नभएर काम गर्ने मान्छे छान्न पनि निर्देशन दिएकी छिन् ।













