काठमाडौँ । विदेशमा रहेका नेपालीहरुले पनि भोट हाल्न पाउने व्यवस्था गर्ने तयारी गरिएको छ । सरकारले अध्यादेशमार्फत कानून संशोधन गरेर विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने व्यवस्था गर्ने तयारी गरेको हो ।
उक्त व्यवस्था गर्न गृह मन्त्रालयले तयार गरेको अध्यादेशको मस्यौदा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइएको छ ।
अध्यादेशमा मतदाता नामावली, प्रतिनिधि सभा सदस्य निर्वाचन, निर्वाचन कसुर तथा सजाय र निर्वाचन आयोग सम्बन्धी ऐन संशोधन प्रस्ताव गरिएको छ । अध्यादेशमार्फत यी ऐन संशोधन भए भोटर कार्ड भएका तर विदेशमा भएका नेपालीहरुले समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् ।
अध्यादेशमा आवश्यक परिमार्जन गरी पुनः गृह मन्त्रालयमा पठाइने छ । मन्त्रीपरिषदले स्वीकृत गरेपछि राष्ट्रपतिबाट अध्यादेश जारी हुनेछ । जारी भएको अध्यादेशलाई राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनमा आउनेछ ।













