Skip to content
LAXMI SUNRISE BANK

जाडोमा न्यानो कपडाको व्यापारः पसलमा छैनन् ग्राहक, चिन्तामा व्यापारी !

अर्थ सरोकार

काठमाडौँ । जाडोयाम सुरु भएसँगै न्यानो कपडाको बिक्री बढेको छ । जाडो बढेसँगै पसलमा न्यानो लुगा किन्न आउनेहरु बढेका छन् । तर, तुलनात्मक रुपमा विगतको भन्दा व्यापार न्यून भएपछि व्यापारीहरु चिन्तामा छन् । 

व्यापारीहरुका अनुसार अहिले स्विटर, ज्याकेट, कोट, पाइन्ट खोज्ने ग्राहकहरु आउने गरेका छन् । तर, धेरै युवा विदेशिँदा ग्राहकको संख्यामा उल्लेख्य कमी आएपछि व्यापारीमा उत्साह घटेको छ । 

यसपालि व्यापार अरु कारणले भन्दा पनि ग्राहक नभएकै कारणले घटेको व्यापारी चन्दकुमार नायकले बताएका छन् । ‘प्राय हरेक वर्षमा ग्राहक घट्दै गएका छन् । सबै मान्छेहरु बाहिर बस्न थालिसके ।’, उनले भने, ‘अहिले काम गर्ने मान्छे पाउन पनि गाह्रो छ ।’

त्यस्तै, न्युरोडका कपडा व्यवसायी लक्ष्मण श्रेष्ठले पनि पहिलेको भन्दा अहिले व्यापार घटेको बताए । देशमा अस्थिरता छाएका कारण व्यापार घटेको उनको भनाई छ । ‘पहिलेको तुलनामा व्यापार कम छ । देशको अवस्था राम्रो नभएका कारण कम भएको होला ।’, उनले भने, ‘जाडोलाई मध्यनजर गर्दै पसलमा स्विटर, ज्याकेटहरु राखिएको छ । बिक्री पनि भएको छ तर ग्राहक कम हुँदा व्यापार धेरै भएको छैन ।’

अर्का कपडा व्यवसायी अर्जुनराज शाक्यले पनि दिनप्रतिदिन व्यापार घटेको बताएका छन् । उनले स्वदेशमा वस्तु उपभोग गर्ने मान्छे विदेश जान थालेपछि व्यापारमा ठूलो असर परेको बताएका छन् । अर्कोतर्फ नेपाली सामानको ‘क्वालिटी’ नहुँदा विदेशी सामानको माग बढेको शाक्यको भनाई छ । ‘युवाहरुको सोचबाट नेपालमै सामान राम्रो बन्छ । तर युवाहरु सबै विदेश जान्छन् ।’, उनले भने, ‘सीप भएका युवा सबै विदेश जाँदा नेपाली उत्पादनमा डिजाइन, फिनिसिङ राम्रो आएको छैन । यही कारण नेपाली कपडा बेच्नै गाह्रो छ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK