काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय रमेश कुमार निरौला, ६४ वर्षीय चित्र बहादुर कार्की, २३ वर्षीय हैदर अली र २२ वर्षीय दिनेश पुरी रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रमेश कुमार निरौलाले पोल्याण्ड पठाउने भन्दै १ जनाबाट ५ लाख ४० हजार, चित्र बहादुर कार्कीले इजरायल पठाउने भन्दै १ जनाबाट १३ लाख रुपैयाँ, हैदर अलीले सर्बिया पठाउने भन्दै ६ जनाबाट ३२ लाख ५० हजार रुपैयाँ र दिनेश पुरीले क्रोएसिया पठाउने भन्दै दुई जनाबाट १२ लाख ४० हजार रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएका थिए ।
पीडितले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका रमेश कुमार निरौलाविरुद्द प्रहरी वृत, सिंहदरवारमा ९० हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दा समेत दर्ता भएको पाइएको छ ।
पक्राउ परेकामध्ये निरौला र किर्कीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ । त्यस्तै, बाँकी दुई जनालाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।













