×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यावसायिक तरकारीखेतीबाट वार्षिक १० लाख आम्दानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

व्यावसायिक तरकारीखेतीबाट वार्षिक १० लाख आम्दानी

Artha Sarokar

११ मंसिर २०८२, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् । उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारीखेती गर्ने किसानहरूसमेत बढिरहेका छन् ।

जिल्लाको लालबन्दी, हरिवन, बाग्मती, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा ठूलो क्षेत्रफलमा, आलु, गोलभेँडा, बोडी, भिन्डी, भान्टा, काउली, बन्दा, खोर्सानी, परबरलगायत तरकारी उत्पादन हुँदै आएको छ । यसले किसानहरूको आयआर्जनमा समेत ठूलो टेवा पुगेको छ ।

लालबन्दी नगरपालिका-१०, हिरापुरका तरकारी किसान सीयाशरण महतो व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्ने अवस्था रहेको बताउँछन् । उमेरले ३५ लागेका महतोले २० वर्षको उमेरदेखि नै व्यावसायिक तरकारीखेतीमा लागेदेखि कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको सुनाए । बुबा हजुरबुबाबाट तरकारीखेती गर्न सिकेका महतोले आधुनिक खेती प्रणाली भने आफैँले छ महिने कृषि ‘जेटिए’ कोर्ष गरेपछि सिकेका हुन् । उनले मौसमीभन्दा बढी बेमौसमी तरकारीखेती गर्दै आएको र यसले मौसमी खेतीभन्दा १० गुणासम्म बढी आम्दानी हुने सुनाएका छन् ।

‘हाल चार बिगाहा खेतमा तरकारी गरिरहेको छु । त्यसमध्ये २५ कट्ठामा गोलभेँडा, सात कट्ठामा हरियो सिमी र आठ कट्ठामा भिन्डी लगाएको छु ।’, महतोले भने, ‘यस सिजनको अन्तिममा निस्कने गरी १४ कट्ठा खेतमा कविता जातको टमाटर रोप्ने योजनासहित बेर्ना उत्पादन गरिरहेको ।’

सुरुमा पढाइपछिको फुर्सदको समयमा बुबाआमालाई खेतीमा सघाउने गर्दागर्दै तरकारीखेती गर्न सिकेको उनले सुनाए । ‘पहिला बाउबाजेले गरेको देखेरै सिकेको हो ।’, उनले भने, ‘पढाइबाट फुर्सद हुने बित्तिकै आमाबुबाले खेतमा काम लगाउनु हुन्थ्यो । पछि बुबाले एउटा छोराले कम्तीमा जेटिए पढे हुन्थ्यो भन्ने धारणा राख्नुभयो । आफूलार्ई पनि खेतीपातीतर्फ लगाव बढ्यो यतै लागियो । परिवारसँगै बसेर तरकारी बेचेर विदेशको भन्दा राम्रो आम्दानी भइरहेको छ ।’

महतोले तरकारीखेतीबाट भएको आम्दानीबाट दुई वर्ष पहिला मात्र पाँच कट्ठा खेत जोडेको बताए । ‘तरकारीखेती मेरो एक मात्र आय आर्जनको माध्यम हो । यसैबाट मैले पाँच कट्ठा खेत जोडेको छु । तरकारी बेचेर महिनाको रु दुई लाखसम्म आम्दानी गरेको अनुभव छ ।’, उनले भने, ‘गत वर्ष ‘अफ सिजन’मा सिमी निकाले दुईदेखि तीन हप्तामा रु ६०/७० हजारसम्म भयो । सबै तरकारी बेच्दा महिनाको रु दुई लाखसम्म आम्दानी भयो ।’

तरकारी खेतीबाट आफूले वर्षभरिमा मलखाद, बीउबिजन, औषधि, मजदुरी, ढुवानी खर्च सबै कटाएर रु १० लाखसम्म बचत गर्ने गरेको महतोका भनाइ छ । यसमा श्रीमतीले राम्रो सहयोग गरिरहेको उनको भनाइ छ । मौसम र मूल्य सधैँ एकनास नरहने भएकाले आम्दानी तलमाथि भइरहने बताउने महतोले यसै कमाईबाट एक छोरा र एक छोरीलाई राम्रो शिक्षा दिनुका साथै परिवारको लालनपालन भइरहेको उल्लेख गरेका छन् ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार सर्लाहीमा १७ हजार ६६२ परिवारले तीन हजार ८४२.७ हेक्टर क्षेत्रफलमा विभिन्न तरकारी खेती गर्दै आएका छन् । यहाँ उत्पादन भएका तरकारी जिल्लाको लालबन्दीस्थित थोक तरकारी तथा कृषिउपज सङ्कलन केन्द्रमा जम्मा गरेर देशका अन्य सहरमा निर्यात हुँदै आएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी