Skip to content

राष्ट्र बैंकको दाबी- ‘सिआइबीले कर्मचारी पक्रेर हेरिरहेको प्रभुको फाइल हामीले ३ पटक हेरेको हो, कैफियत भेट्टाएनौँ’

Dish Home

अर्थ सरोकार

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका सीइओ, डेपुटी सीइओसहित ३ कर्मचारी पक्राउ गरेर हेरिरहेको फाइलमा यसअघि नै नियामक नेपाल राष्ट्र बैंकले आवश्यक अनुसन्धान गरेको तर कैफियत नभेटाएको खुलेको छ । राष्ट्र बैंकले गरेको विभिन्न इन्सपेक्सनका क्रममा सो फाइलमाथि पनि अनुसन्धान भए पनि कैफियत नभेटिएको दाबी राष्ट्र बैंकका अधिकारीहरुले गरेका छन् ।

नियामक नेपाल राष्ट्र बैंकले बर्षमा एक पटक प्रत्येक इजाजतपत्र प्राप्त संस्थाको इन्सपेक्सन गर्छ । सो क्रममा स्थलगत रुपमै पुगेर राष्ट्र बैंकहरुले विभिन्न फाइलमाथि अध्ययन गर्छ । अझ, राष्ट्र बैंकमा प्राप्त उजुरीका आधारमा, विभिन्न निकायले अनुसन्धान गर्न भनेको विषयमा पनि राष्ट्र बैंकले विशेष अनुगमन पनि गर्ने गरेको छ । अहिले सीआईबीले हेरिरहेको केसमा पनि राष्ट्र बैंकको टोलीले यसअघि नै अनुसन्धान गरेको, तर कैफियत नभेटाएको तथ्य खुलेको छ ।

राष्ट्र बैंकका अनुसार गएको एक बर्षमा मात्र प्रभु बैंकमा तीन पटक इन्सपेक्सन गरेको थियो । एक पटक जनरल / रेगुलर इन्स्पेक्सन गरेको राष्ट्र बैंकले प्राप्त उजुरीका आधारमा थप दुई पटक विशेष इन्सपेक्सन गरेको थियो । यसरी गरिएको तीनैपटकको इन्सपेक्सनका क्रममा अहिले सीआईबीले हेरिरहेको फाइल राष्ट्र बैंकले हेरेको, तर कैफियत नभेटेको स्वयम् राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार रेगुलर इन्सपेक्सनमा निश्चित विषयमा अनुगमन हुन्छ । बैंकले दिएका कर्जा, बैंकको कम्प्लाइन्सको अवस्था, लगायतका विषयमा हरेक बर्ष जनरल इन्सपेक्सन हुन्छ । प्रभुमा पनि गत बर्ष पनि यो इन्सपेक्सन भएको थियो । सो क्रममा राष्ट्र बैंकले भेटाएको कतिपय कैफियतबारे बैंकसँग प्रश्न गरेको थियो भने बैंकलाई विभिन्न खाले निर्देशन पनि दिएको थियो । तर, सीआईबीले हेरेको अहिलेको फाइलका विषयमा राष्ट्र बैंकले त्यस्तो ‘सिरियस’ केहि भेटेको थिएन ।

पछि प्राप्त उजुरीका आधारमा पनि राष्ट्र बैंकले प्रभु बैंकमा थप इन्सपेक्सन गरेको थियो । त्यतिबेला पनि प्राप्त उजुरीका आधारमा बैंकले कतिपय विषयमा इन्सपेक्सन गरेको थियो । तर त्यति बेला पनि यो विषय खास गम्भीर भएको आशय राष्ट्र बैंकको थिएन ।

अझ पछिल्लो इन्सपेक्सनका क्रममा त राष्ट्र बैंकले प्रभु म्यानेजमेन्टसँग सम्बन्धित अनेक फाइलहरु एक एक गरी हरेको थियो । यति हेर्दा पनि ‘सिरियस’ केहि नदेखेपछि राष्ट्र बैंकले सोका विषयमा खास गम्भीर टिप्पणी लेखेको थिएन । तर, यहि विषय अहिले आएर सीआईबीले हेरिरहेको छ ।

यसपाली ठ्याक्कै उल्टो अभ्यास !
सामान्यतया, राष्ट्र बैंकले अनुसन्धानका क्रममा ‘क्रिमिनल केस’ देख्यो भने त्यसलाई अनुसन्धानका लागि सीआईबीमा पत्राचार गर्ने प्रचलन छ । यो केसमा राष्ट्र बैंकले कुनै पनि खालको पत्र सीआईबीमा नपठाएको राष्ट्र बैंकका प्रवक्ताको दाबी छ । देवी भट्टचनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको फाइलमा समेत राष्ट्र बैंकले आवश्यक कागजात उपलब्ध गराएर अनुसन्धानमा सहयोग नै गरेको थियो । तर एक्कासी, बैंकका सीइओ र डेपुटी सीइओलाई पक्राउ गरेर सीआईबीले थप अनुसन्धान गरिरहेको जानकारी दिएपछि यति बेला राष्ट्र बैंकको स्वायत्तता माथि पनि प्रश्न उठेको छ ।

यसो त, राष्ट्र बैंकले सीआईबीलाई बैंकमा छापा मार्ने, सीइओ नै पक्राउ गर्ने लगायतका विषयले निक्षेपकर्ताको विश्वास गुम्ने भन्दै त्यसो नगर्न सीआईबीका अधिकारीहरुसँग अनौपचारिक कुराकानीसमेत गरेको थियो । आवश्यक अनुसन्धान राष्ट्र बैंकले नै गर्ने र आवश्यक परे सीआईबीलाई पत्राचार गर्ने भन्दाभन्दै सीआईबीले बैंकका सीइओ लगायतका कर्मचारी पक्राउ गरेपछि राष्ट्र बैंककै व्यवस्थापन रुष्ट बनेको छ ।

‘यस्तै हो भने कुनै पनि बैंकका सीइओ अव कुनै पनि बेला पक्राउ पर्न सक्छन् । उदाहरणका लागि, केहि समय अगाडी राष्ट्रिय बाणिज्य बैंकको शाखाबाट ठुलो परिमाणमा सुन लुटिएको खबर थियो । कतिपयले त्यहाँ सुन नै थिएन समेत भनेका छन् । अव सो अनुसन्धान राष्ट्र बैंकले गर्ने कि सीआईबीले ? कुन सीइओका विषयमा उजुरी छैनन् होला र ? कुन बैंकमा कैफियत छैनन् होला र ? तर, यसो भन्दैमा सीआइबीले पक्राउ गरिहाल्ने ठिक भयो र ?’ राष्ट्र बैंकका अधिकारी भन्छन्, ‘प्रभु बैंकको केसमा जे भयो, ठिक भएन ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्