Skip to content
LAXMI SUNRISE BANK

६ महिनामै नेपालमा साढे १० खर्ब रेमिट्यान्स भित्रियो, पुसमा मात्र आयो १ खर्ब ९२ अर्ब

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपाल भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार उक्त अवधिमा रेमिट्यान्स ३९.१ प्रतिशतले वृद्धि भएर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह भने ४.२ प्रतिशतले मात्र बढेको थियो ।

२०८२ साल पुस महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा देशमा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा मापन गरिएको विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह २.७ प्रतिशतले मात्र वृद्धि भएको थियो । यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ६ हजार ८०७ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ९४ हजार ७३३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६२ हजार ६२८ रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK