Skip to content
LAXMI SUNRISE BANK

मौन अवधिमा पैसाको चलखेल गरे उम्मेदवारी नै खारेज, चुनाव लड्न ६ वर्ष प्रतिबन्ध लगाइने !

अर्थ सरोकार

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा ‘शून्य सहनशीलता’ को नीति अपनाउने चेतावनी दिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो बताएका हुन् । 

उनले मौन अवधिमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने बताएका छन् । 

हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनका करिव १ हजार १ सय उजुरी परेको भण्डारीले बताएका छन् । तीमध्ये धेरैको स्थानीय स्तरमै फर्स्योट भइसकेको उनले जानकारी दिएका छन् । 

आयोगले २५-३० वटा गम्भीर प्रकृतिका उजुरीमाथि केन्द्रिय स्तरबाटै कारबाहीको निर्णय गरिसकेको र केही विषयहरू अदालतमा समेत पुगेको उनले बताएका छन् । ‘यदि कसैले रकम लेनदेन गरेको वा निर्वाचन सामग्री र रकमको झोला एकै ठाउँमा बोकेर हिँडेको प्रमाण भेटिएमा र त्यो बरामद भएमा उम्मेदवारी खारेज मात्र होइन, अर्को ६ वर्षसम्म निर्वाचनमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइनेछ ।’, उनले भने, ‘एउटा राजनीतिक प्राणीलाई राजनीतिबाट ६ वर्ष वञ्चित गरिनु सबैभन्दा ठूलो सजाय हो ।’

निर्वाचन आयोग कुनैपनि दबाबमा नपरी कानून बमोजिम कार्य सम्पादन गर्न दृढ रहेको उनको दाबी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK