Skip to content
LAXMI SUNRISE BANK

विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै !

अर्थ सरोकार

काठमाडौँ । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको पहिलो रोजाइमा जापान पर्न थालेको छ भने विदेश गएर सबैभन्दा बढी व्यवस्थापन विषय पढ्ने गरेको पाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपालीका लागि दिइएको पूर्वस्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) को गत आर्थिक वर्ष र यस आर्थिक वर्षको पहिलो त्रैमासिकको विवरणमा जापान आकर्षणमा परेको छ । जापानी भाषा सिकेर थप पढ्न र काम गर्न जापानमा सहज हुने भएकाले पनि विद्यार्थीको चाप देखिको हो । केही वर्ष अघिसम्म नेपाली विद्यार्थीको पहिलो रोजाइ अष्ट्रेलिया हुने गरेको थियो ।

यस आर्थिक वर्षको गत १ साउनदेखि असोज मसान्तसम्म कूल २८ हजार ५८५ विद्यार्थीले मन्त्रालयको भक्तपुर (सानोठिमी)स्थित शाखाबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएको मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये जापानका लागि नौ हजार ४५३, अष्ट्रेलियाका लागि सात हजार ७३० र संयुक्त अधिराज्य बेलायतका लागि चार हजार ६११ विद्यार्थीले स्वीकृति लिएका छन् । मन्त्रालयको ‘नो अब्जेक्सन लेटर’ शाखाका प्रमुख वीरेन्द्रजङ्ग थापाले गत फेब्रुअरीमा भएको जापानी भाषा परीक्षाका कारण पछिल्ला दिनमा जापान जाने विद्यार्थी बढेको बताए । उनले आज केही समय ‘एनआइडिसी’ को ‘सिस्टम डाउन’ भएकाले विद्यार्थीलाई छिटो सेवा दिन नसकिएको बताउँदै ‘अनलाइन’ प्रणालीका आधारमा एनओसी सेवा पाउन आवेदन दिन र स्वीकृतिको प्रणाली विकास गरिएकाले कागजात पूरा गरिएका आवेदकहरूको पालोअनुसार स्वीकृति हुने बताएका छन् ।

जापान जाने तयारीमा एनओसीका लागि आवेदन दिएका जुम्लाका नवराज देवकोटाले आज उक्त शाखामा विद्यार्थीको निकै भीड भएकाले आफ्नो स्वीकृतिको अवस्थाबारे बुझ्न कठिन भएको गुनासो गरे । देवकोटा जापानको फुकोकास्थित क्युरिन इन्टरनेशनल जापानी भाषा कलेजमा पढ्न जाने तयारीमा छन् ।

गत आर्थिक वर्ष २०८१÷०८२ मा ८४ देशका लागि जम्मा एक लाख २३ हजार ५८९ ले विदेश पढ्नका लागि स्वीकृति लिएका थिए । स्वीकृति लिएकामा जापानका लागि अत्यधिक ३९ हजार ८४७ रहेका छन् । यस्तै उत्कृष्ट पाँच गन्तव्य देखिएको मध्येमा बेलायतका लागि २७ हजार ४७५, अष्ट्रेलियाका लागि १६ हजार २७९, दक्षिण कोरियाका लागि नौ हजार ७५७, संयुक्त राज्य अमेरिकाका लागि आठ हजार ८७० छन् ।

अध्ययन गर्ने विषयका आधारमा सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन विषयका देखिएका छन् । सो विषयमा एक लाख १६ हजार सात सय ८० विद्यार्थीले गत आर्थिक वर्षमा पूर्वस्वीकृति लिएका छन् । यस्तै सूचना प्रविधि विषयमा ३० हजार ७४४, विज्ञान विषयमा २० हजार ६७४ र हस्पिटालिटीमा १४ हजार २३ विद्यार्थी रहेका छन् ।

मन्त्रालयले विदेशका विश्वविद्यालय र कलेजको आधिकारिकता र शिक्षणका लागि भौतिक पूर्वाधारको अनुकूलताका आधारमा कार्यक्रमगत सूची पनि हालै अद्यावधिक गरेको छ । ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ (संशोधनसहित) को दफा १८ को उपदफा ४ मा विश्वविद्यालय वा शिक्षण संस्थाको बेबसाइट उपलब्ध रहेको तिनको वरियताक्रम प्रदान गर्ने ‘टाइम्स हाइयर एजुकेशन’ वा ‘क्युएस वल्र्ड युनिभर्सिटी ¥याङ्किङ’को वरियता सूचीमा रहेकाहरूको सूची यही फागुन ११ गते मन्त्रालयले अध्यावधिक गरेको हो ।

विदेशमा पढ्न जाने विद्यार्थीका लागि समस्या भोग्नु नपरोस् भन्ने अभिप्रायाले मन्त्रालयले विश्वविद्यालय र कलेजको आधिकारिकता पहिचानमा सहजीकरण गरेको हो । मन्त्रालयले आफूलाई ती मुलुकका आधिकारिक च्यानलबाट प्राप्त जानकारीका आधारमा चीन, अष्ट्रेलिया, नर्वे, युएइ, संयुक्त अधिराज्य बेलायत, आयरल्याण्ड, स्पेन, माल्टा, संयुक्त राज्य अमेरिका, जर्मनी, इटली, लिथुवानिया, गणतन्त्र कोरिया, कतार र माल्दोभाका विश्वविद्यालय र कलेजसम्बन्धी आधकारिक सूचना प्रदान हुने पोर्टलहरू प्रकाशन गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK