Skip to content
LAXMI SUNRISE BANK

सेतो मच्छिन्द्रनाथको रथ तयार गरिँदै… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ बनाउने कार्य सुरु भएको छ । वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन सुरु गरेको सेतो मच्छिन्द्रनाथ व्यवस्थापन समितिले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन अनुसार सेतो मछिन्द्रनाथको रथयात्रा गर्ने गरिन्छ । यस पटकको सेतो मच्छिन्द्रनाथको जात्रा चैत १२ गते परेकाले तृतीयाका दिन देखि नै रथ बनाउन थालिएको हो । रथलाई बेतले बाँध्ने गरिन्छ जसलाई नेवारी भाषामा ‘पाउ’ भन्‍ने गरिन्छ ।

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट खटमा राखी तीनधारा पाठशालामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।

किम्वदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्‍नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ । सोही परम्परा अनुसार अहिले पनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ । उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चार वटा मच्छिन्द्रनाथ छन् ।

धार्मिक सहिष्णुताको प्रतीक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पूज्ने परम्परा छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK