Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंक घोटाला प्रकरणः घोटालाकी ‘मास्टरमाइन्ड’ कँडेल फरार, प्रदेश र केन्द्रका कर्मचारी विरुद्ध पनि अनुसन्धान हुने !

अर्थ सरोकार

काठमाडौँ । सिटिजन्स बैंक घोटाला प्रकरणकी ‘मास्टरमाइन्ड’ रोजी कँडेल फरार रहेको पाइएको छ । बैंकको विराटनगरस्थित कञ्चनबारी शाखाकी तत्कालीन अपरेसन इन्चार्ज कँडेल पक्राउ पुर्जी जारी भएलगत्तै फरार रहेको पाइएको हो । 

बैंकको मुद्दती निक्षेपमा रकम जम्मा गर्ने निक्षेपकर्तालाई थाहा नै नदिई नक्कली ऋण फाइल खडा गरेर ४ करोड ९१ लाख हिनामिना गरेको भेटिएपछि कँडेलविरुद्ध बैंकले प्रहरीमा उजुरी दिएको थियो । 

कँडेलविरुद्ध उच्च अदालत विराटनगरले पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ । तर, आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि उनी फरार छिन् । पक्राउ पर्ने डरले फरार भएकी कँडेलको खोजीकार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका एक अधिकारीले अर्थ सरोकारलाई जानकारी दिएका छन् ।

झण्डै ५ करोड घोटालाबारे बैंकले गरेको इन्टरनल अडिटका क्रममा पनि कँडेल (युजर आईडी २२७४) नै मुख्य योजनाकार देखिएपछि बैंकलाई उनलाई बर्खास्त गरिसकेको छ । 

यता बैंकले उक्त प्रकरणमा संलग्नता देखिएपछि तत्कालीन शाखा प्रबन्धक अभिषेक अग्रवाल (आईडी ४७२), सहायक शाखा प्रबन्धक जोसेफ आचार्य (आईडी १९३२),सोनिका राउत (आईडी २८७), विकास श्रेष्ठ, एलिना श्रेष्ठ र उद्धव अधिकारीलाई निलम्बन गरेको छ । 

त्यस्तै, उक्त प्रकरणमा शाखाका कर्मचारीसँगै प्रदेश र केन्द्रका कर्मचारीमाथि पनि अनुसन्धान हुने प्रहरीले बताएको छ । ‘घोटाला प्रकरण बाहिरिएसँगै प्रदेश र केन्द्रका कर्मचारीको पनि मिलेमतोको आशंका छ ।’, अनुसन्धानमा संलग्न एक प्रहरीले अर्थ सरोकारसँग भने, ‘त्यसतर्फ पनि अनुसन्धान गर्दैछौँ ।’ अझ घोटालामा संलग्नलाई कारवाही गर्नुको साटो ‘पैसा फिर्ता गर, प्रहरीमा जाँदैनौँ’ भन्दै बैंकले नै घोटालामा संलग्न कर्मचारीसँग कागज बनाएको र जग्गासमेत रोक्का गरेको तथ्य फेला परेपछि प्रहरीको अनुसन्धान बैंकका सिइओसहित केन्द्रीय कर्मचारीतर्फ पनि सोझिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK