Skip to content
LAXMI SUNRISE BANK

कम्बोडियाबाट ठगीमा परेका ५१ नेपालीको उद्धार

अर्थ सरोकार

काठमाडौँ। ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार गरिएको छ। विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगिमा परेका ५१ नेपालीको उद्धार गरिएको छ ।

अनलाइन ठगिका साथै विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना राहदानी बसिरहेका उनीहरुलाई आज थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैरआवासीय नेपाली सङ्घ, कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको हो ।

यसैगरी अलपत्र परेका वा कठिन परिस्थितीमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ । कम्बोडियामा नेपालीलाई नागरिक अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिना राहदानी वा राहदानी-अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ ।

कम्बोडियामा अवैध रुपमा बसिरहनुभएका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैरआवासीय नेपाली सङ्घ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रहरूबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनि जनाको गुनासो आएको छ । त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको जनाएको छ ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ नेपालीहरु भ्रमण भिसामा कम्बोडिया गएकामा सन् २०२२ मा एक हजार ९७७ जना, सन् २०२३ मा दुई ९४० जना, सन् २०२४ मा छ हजार ४०४ जना तथा सन् २०२५ मा नौ हजार ६७६ नेपालीहरु कम्बोडिया गएको देखिन्छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK