Skip to content
LAXMI SUNRISE BANK

‘लुटतन्त्र सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैन’- अर्थमन्त्री

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा रहेको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) ले राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सुशासनको मामिलामा निर्मम हुने बताए ।

सरकारले सुशासनलाई ‘म्याक्रो’ र ‘माइक्रो’ दुई तहमा विभाजन गरेर सुधारका काम अगाडि बढाएको स्पष्ट पारेका छन् । ‘हामीले  सुशासन भनेका छौ । सुशासनलाई पनि टुक्याएर म्याक्रो र माइक्रो दुई वटैमा छ ।’, उनले भने, ‘म्याक्रो भनेको यो नीतिगत कब्जा, संस्थागत कब्जा जुन असाध्यै यो क्लेप्टोक्रेसीमा हामी थियौँ । यो लुटतन्त्रमा जुन हामी थियौँ । त्यसलाई हामी सच्याउने मोडमा छौँ ।’

मन्त्री वाग्लेका अनुसार म्याक्रो सुशासन भन्नाले राज्यका संयन्त्र र नीतिहरूमा हुने संस्थागत कब्जालाई सच्याउनु हो । माइक्रो सुशासन अन्तर्गत आम जनताले पाउने सेवा प्रवाहमा सुधार गर्ने, सरकारी अड्डामा लाइन बस्नु नपर्ने, घुस खुवाउनु नपर्ने र हात-हातकै फोनबाट डिजिटल माध्यमबाट सेवा पाउने सुनिश्चितता गर्न सरकार लागेको उनले बताएका छन् ।

त्यस्तै, उनले विवादास्पद व्यापारी दीपक भट्ट र उनका साझेदार अर्का व्यापारीहरु सुलभ अग्रवाल, शेखर गोल्छा लगायतलाई सरकारले पक्राउ गरेपछि निजी क्षेत्रले विरोध गरिरहेका बेला अपराध गर्ने कसैलाई नछाडिने बताएका छन् । उनले अपराध गर्नेहरुलाई पक्राउ गर्दा मनोबल खस्कियो भनेर निजी क्षेत्रले भन्न नहुने समेत बताएका छन् ।

मन्त्री वाग्लेले इमानदार व्यवसायीहरूलाई नतर्सिन समेत आग्रह गरेका छन् । ‘गल्ती नगरेका र दुःख गरेर कमाउने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरू आत्तिनुपर्ने छैन ।’, मन्त्री वाग्लेले भने, ‘तर उद्यमीको आवरणमा अपराध गर्ने र ‘क्रिमिनल’ भएर हिँड्नेहरूले भने उन्मुक्ति पाउने छैनन्, उनीहरू डराए हुन्छ ।’

उनले निजी क्षेत्रलाई ७० खर्बभन्दा ठूलो अर्थतन्त्रको संवाहक र ७ प्रतिशतको आर्थिक वृद्धिको मुख्य सारथीका भएको समेत बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK