Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा ‘डोजर’ चलेपछि त्रासमा पोखराका सुकुम्बासी, व्यवस्थापन नभएसम्म बस्ती नछोड्ने अडान (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा सुकुम्बासी बस्तीमा धमाधम डोजर चल्न थालेपछी पोखराका सुकुम्बासीहरू पनि त्रसित बनेका छन् । पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । महानगरपालिकाको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार वैशाख ४ गते सूचना जारी गरेको हो ।

पोखरा महानगरपालिका-९ स्थित बसपार्क क्षेत्रमा करिब ४ सय ७५ घरधुरी रहेको सुकुम्बासी बस्तीका बासिन्दाले भने वैकल्पिक व्यवस्था बिना स्थान खाली नगर्ने अडान लिएका छन् । उनीहरूले व्यवस्थापनपछि मात्रै डोजर चलाउन माग गरेका छन् ।

हालै गठन गरिएको ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति, जिल्ला समिति कास्की’ले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै सरकारले उचित पुनःस्थापना गरेमा मात्रै बस्ती खाली गर्न तयार रहेको जनाएको छ ।

समितिले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । वैशाख २१ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र सोही दिन पृथ्वीचोकमा र्यालीसहित कोणसभा गर्ने योजना रहेको जनाइएको छ । तर, वैकल्पिक व्यवस्था नभएसम्म कुनै पनि हालतमा स्थान खाली नगर्ने उनीहरूको स्पष्ट अडान छ ।

इतिहास अनुसार, पोखरा-९ पृथ्वीचोक बसपार्क क्षेत्रमा २०३२ सालमा बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यसपछि उक्त क्षेत्रमा सुकुम्बासीहरू बसोबास गर्दै आएका हुन् । पोखरा नगर योजना (वि.सं. २०३०) र पोखरा उपत्यकाको गुरुयोजना (वि.सं. २०३१) अनुसार अधिग्रहण गरिएको उक्त जग्गा अतिक्रमण, मुआब्जा वितरण तथा सडक विस्तारका कारण हाल खुम्चिँदै करिब ५० देखि ८१ रोपनीमा सीमित भएको महानगरको प्रतिवेदनमा उल्लेख छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK