Skip to content
LAXMI SUNRISE BANK

१० महिनामा ४३ अर्ब ५४ करोड राजस्व संकलन, बैशाखमा रेकर्ड ब्रेक !

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो १० महिनामा घरजग्गा कारोबारबाट साढे ४३ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्म घरजग्गा कारोबारबाट ४३ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार बैशाख महिनामा मात्रै ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८ सय ७३ रुपैयाँ राजस्व संकलन भएको छ । जुन साउनयताकै सबैभन्दा धेरै हो ।

यसअघि चैत महिनामा ६ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । पछिल्लो समय ठूला र महँगा जग्गाको किनबेच बढेसँगै राजस्व संकलन बढेको घरजग्गा व्यवसायीहरुको भनाई छ । 

विभागका अनुसार बैशाखमा १ लाख ६९ हजार ५ सय ३८ पटक घरजग्गा कारोबार भएको छ । जुन चैतको भन्दा कम हो । चैत महिनामा १ लाख ७६ हजार ७ सय ७१ पटक घरजग्गा कारोबार भएको थियो । यसअवधिमा सबैभन्दा धेरै राजस्व काठमाडौँ उपत्यकाका मालपोत कार्यालयहरुले संकलन गरेका छन् ।

समीक्षा अवधिमा डिल्लीबजार मालपोत कार्यालयले ५९ करोड ९१ लाख २५ हजार ८ सय ९४ रुपैयाँ, लगनखेल कार्यालयले ५२ करोड ९६ लाख ७७ हजार १ सय ९२ रुपैयाँ, भक्तपुर कार्यालयले ४७ करोड १४ लाख १९ हजार ४ सय ५१ रुपैयाँ, चाबहिल कार्यालयले ४२ करोड ६५ लाख १० हजार १ सय ११ रुपैयाँ र कलंकी कार्यालयले ४१ करोड ९९ लाख ३२ हजार ८२ रुपैयाँ राजस्व संकलन गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK