Skip to content
LAXMI SUNRISE BANK

उत्तरी नाकामा बिवाईडीको ‘बदमासी’: गाडी नआउँदै कागज मिलाएर ‘जाँचपास’, सशस्त्रको नियन्त्रणमा सयौँ सवारी !

अर्थ सरोकार

काठमाडौँ । उत्तरी नाका कोरलामार्फत आयात गरिएका बिवाईडीका सयौँ विद्युतीय सवारी साधन (इभी) नियन्त्रणमा लिइएको छ । मुस्ताङबाट कास्कीतर्फ ल्याइँदै गरेका ७ सय ५० इभी गाडीलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो । 

ती गाडीहरुका आयातसम्बन्धी कागजात र भन्सारको ‘डकुमेन्ट’ नमिलेको भन्ने सूचना आधारमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका एक अधिकारीले बताएका छन् । 

ती अधिकारीका अनुसार नियन्त्रणमा लिइएका अधिकांश गाडी बिवाईडीका छन् भने ती गाडीहरुमा नम्बर प्लेट समेत राखिएका छैनन् । नियन्त्रणमा लिइएको गाडीहरुलाई भन्सार प्रक्रिया जाँच गर्नका लागि पठाइएको ती अधिकारीको भनाई छ । 

प्रारम्भिक रुपमै शंकास्दप देखिएका बिवाईडीका गाडीहरु आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि नै इभी गाडीसम्बन्धी करका दर परिवर्तन हुने सूचना पाएर हतारमा भित्राइएको हुनसक्ने आशंका गरिएको छ । यसो त बजेट अघि नै करका दर फेरबदल हुने सूचना पाएर बिवाईडीले सयौँ गाडी नाकामा नआउँदै कागज मिलाएर जाँचपास गरेको तथ्य बाहिरिएको थियो । 

यतिसम्म कि करका दरमा फेरबदल हुने सूचना पाएपछि बिवाईडीले बजेटको ठिक अघि प्रज्ञानपत्र जारी गर्न लगाएको थियो । सोही अनुसार बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले रसुवा भन्सार कार्यालयबाट १ सय ८७ गाडीको प्रज्ञानपत्र बनाएर करसमेत तिरेको थियो । तर, बजेटअघि नै कागज मिलाएर जाँचपास गरिएका २०-३० वटा गाडी मात्र भन्सार पास भएका थिए । बाँकी गाडी जेठ १८ गतेसम्म पनि भन्सार पास गरेका थिएनन् । 

त्यसपछि भन्सार विभागसँगै सुरक्षा संयन्त्रले निगरानी बढाएको थियो । सोही क्रममा सशस्त्र प्रहरीले बिवाईडीका सयौँ गाडीहरु नियन्त्रणमा लिएको छ । ती गाडीहरु बजेटअघि नै कागजमा भन्सार जाँचपास गराइएका गाडी हुनसक्ने आशंका गरिएको छ । हाल उक्त विषयमा भन्सार विभागले समेत अध्ययन गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK