Skip to content
LAXMI SUNRISE BANK

‘लालीबजार’ को कमाई ९ करोड !

अर्थ सरोकार

काठमाडौँ । गत जेठ २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ ले घरेलु बजारमा ‘ब्लकबष्टर’ कमाई गरेको छ । घरेलु बजारमा ९ करोडको व्यापार गर्दै ‘लालीबजार’ २०८३ मा हालसम्म प्रदर्शन भएका फिल्ममध्ये सबैभन्दा अगाडि देखिएको छ । चलचित्र विकास बोर्डले हाल सिनेमाघरमा प्रदर्शनरत नेपाली फिल्मको व्यावसायिक विवरण सार्वजनिक गरेको छ ।  

बोर्ड अन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ मा गत जेठ २४ गते आइतबारसम्म रहेको तथ्याङ्कअनुसार ‘लालीबजार’ ले रु ८ करोड ७८ लाख ५ हजार १ सय ९८ कमाई गरेको छ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको उक्त फिल्मको अवधिमा कूल २ लाख ९८ हजार २२७ टिकट बिक्री भएका छन् । यो तथ्यांक आइतबारसम्म भएकाले मङ्गलबारसम्म यो फिल्मले ९ करोडको आँकडा घरेलु बजारमा पार गरिसकेको छ ।

फिल्ममा अभिनेत्री खड्कासँगै अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रशंसा सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ । 

डेब्यु फिल्ममार्फत नै अभिनेता विशाल देवकोटा र अभिनेत्री प्रशंसा सुवेदीले दर्शकबाट तारिफ पाएका छन् । विशाल थियटरमा झन्डै ९ वर्ष काम गरेपछि ठुलो पर्दामा डेब्यु गरेका हुन् । पहिलो फिल्म नै सफल भएपछि उनी मेहनतको फल प्राप्त भएको बताउँछन् । ‘डेब्यु फिल्म भएकाले म अहिले सब कुरा सिकिरहेको छु, अनुभव गरिरहेको छु ।’, उनले भने, ‘पहिलो फिल्ममा पाएको सफलतालाई म शब्दमा व्यक्त गर्न सक्दिन । मैले पाएको सफलताले मलाई आगामी दिनमा झनै जिम्मेवार भएर काम गर्ने निर्देश दिएको छ ।’

फिल्ममा उनले ‘नारायण’ नामक पात्रको भूमिका निर्वाह गरेका छन् । शिक्षाको ज्योतिको महत्त्व बुझाउने पात्र भएकाले नारायणलाई दर्शकले बढी माया दिइरहेका छन् ।

षट्कोण आट्र्सको ब्यानरमा तयार भएको फिल्म ‘लालीबजार’ लाई यम थापाले निर्देशन गरेका हुन् । यसमा निर्देशक प्रदीप भट्टराई कार्यकारी निर्माता र पटकथाकारको भूमिकामा छन् । म्याक्स दीपश खत्रीको निर्माणमा तयार भएको ‘लालीबजार’ मा मित्रदेव गुरुङको सम्पादन, सुशन प्रजापतिको छायांकन रहेको छ ।     

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK