काठमाडौँ । तपाईंले बैंकमा राखेको सुन, ऋण चुक्ता गरिसकेपछि बैंकमा पुग्दा सुन त हराइसक्यो भन्यो भने तपाईंलाई कस्तो लाग्छ ? अनि हराएको सुनको रिप्लेसमेन्ट दिन्न, बरु हराएकै दिनको भाउमा पैसा दिन्छु भन्यो भने तपाईंलाई कति घाटा लाग्दो हो ? न तपाईंलाई बैंकले सुन हराएको जानकारी समयमा दिएको छ, न तपाईंबाट सुन गराइसकेपछि पनि ब्याज लिन छाडेको छ । तर जव तपाईं, सावाँ ब्याज सबै तिरिसक्नुहुन्छ र आफ्नो सुन फिर्ता लिन जानुहुन्छ, बैंकले तपाईंलाई तपाईंको सुन त उहिल्यै हराइसकेको छ र त्यही हराएको दिनको पैसा दिन्छु भन्यो भने तपाईंलाई सह्य हुन्छ त ? पक्कै हुँदैन । हो, यस्तै भएको छ अहिले राष्ट्रिय वाणिज्य बैंकका ऋणीहरुलाई ।
केही पैसा खाँचो भए पछि बैंकमा सुन राखेर ऋण लिएका थिए ऋणीले । भदौ २४ को आन्दोलनमा सो सुन बैंकबाट लुटिएको गाइँगुइँ आयो । तर ऋणीलाई तपाईंको सुन पनि लुटमा पर्यो, आउनुहोला भनिएन । बरु भकाभक ब्याज लिइयो । जव केहि समयपछि ऋणको किस्ता र ब्याज बुझाइसकेपछि ऋणीले आफ्नो सुन खोजे, तव भनियो तपाईंको सुन त भदौ २४ गते नै लुटियो, त्यही दिनको भाउमा पैसा लैजानुस् । त्यसपछि ऋणीले भने, ‘हामीले राखेको सुन हो, हामीलाई सुन नै चाहियो नि । तपाईंले सुरक्षित राख्न नसक्नु त बैंकको कमजोरी हो । बैंकको कमजोरीको भागिदार हामी किन हुनुपर्ने ? सेफमा सुरक्षित राख्नुपर्ने सुन, असुरक्षित तरिकाले राख्ने अनि लुटियो भन्न पाइन्छ ?’ तर बैंकले एकोहोरो लिँडेढिपी गरिरहेको छ- ‘हामी अरु केही जान्दैनौँ, तपाईंहरुको कुरा सुन्दैनौँ, तपाईंको सुन हराइसक्यो, आजको भाउ पनि दिदैनौँ, २४ गतेको भाउ पाउनुहुन्छ, लिएर जानुस् ।’
खासमा नेताहरुले यस्तै ढिपी गरेर, जनताको सम्पत्ति लुटे, भनेर जेन-जी आन्दोलन भएको थियो । तर राष्ट्रिय वाणिज्य बैंकले पनि त्यही सामन्ती पारा देखाएको छ । सुन लुटिएको हो कि, त्यही आन्दोलनको मौका छोपेर बैंककै कर्मचारीले तलमाथि गरे कि, लुटिएको हो भने त्यसको अनुसन्धान कहाँ पुग्यो ?, न त्यो सुन भेटिन्छ कि, वा प्रहरीले खोज्छ कि ! एक तोला होइन, दुई तोला होइन २०-२० केजी सुन त्यसै त हराउँदैन होला, त्यो लुटिएको प्रमाण पनि चाहिन्छ होला । तर, बैंक केही सुन्ने वाला छैन ।

त्यो सुन लुटिएको हो भने त्यसको अनुसन्धान कहाँ पुग्यो भन्ने विवरण पनि बैंक हामीसँग छैन भन्छ । लुटियो पनि भन्छ, तर बैंक लुटिएको कहीं कतै सिसिटिभी, वा कुनै फोटो भिडियो पनि छैन भन्छ । त्यो दिन राष्ट्रिय वाणिज्य बैंकबाट केहि सुन चोरिएको, केही पैसा चोरिएको फुटेजहरु बाहिर आएको थियो । तर २०-२० केजी सुन चोरिंदा त्यसको कुनै फुटेज वा फोटो कसैले नखिच्ने वा कसैले नदेख्ने कसरी भयो होला ? ती सुन लुटिएको बारे अनुसन्धान भएपछि पो के गर्ने ? भन्ने होला । तर बैंक यो केस सल्टाईहालौँ भन्ने शैलीमा भनिरहेको छ, लिने भए त्यही दिनको भाउमा सुन लेऊ, नभए जेसुकै गर । बैंकले यस्तो व्यवहार गर्दैछ मानौं, यो देश अहिले पनि त्यही भदौ २४ जस्तै राज्यविहीनताको स्थितिमा छ । देशमा विधि, कानुन केही छैन । अनि, यी ऋणीलाई जे भने पनि हुन्छ, जे गरे पनि हुन्छ ।
यस विषयमा बैंकका सीइओ देवेन्द्र रमण खनाल बोल्नै चाहादैनन् । सुन लुटिएको हो भने त्यसको छानविन कहाँ पुग्यो ? छानविन सकिएको हो भने प्रतिवेदनमा के छ ? २० केजी सुन कसरी लुटियो? बैंककै कुरा पत्याउने हो भने पनि सेफमा सुरक्षित राखिनुपर्ने सुन किन दराजमा लापरवाहीपूर्ण ढंगले राखियो ? बैंकमा धितो नै सुरक्षित हुँदैन भने राष्ट्रिय वाणिज्य बैंकलाई अव किन र कसरी विश्वास गर्ने ?

बैंकबाट सुन लुटिएको छ, त्यसमा धितो राखेको ऋणीको के दोष ? कतै त्यो सुन बैंककै कर्मचारीले आन्दोलनका नाममा त लुकाएनन्, ऋणीको आरोप र शंका त यस्तो पनि छ, यी तामां प्रश्न गर्दा खनाल भन्छन– ‘त्यत्रा मान्छे मरे त्यो दिन, यो सुनको कुरा के गर्नु ?’ यसरी पनि पाइन्छ र ? यो पनि जवाफदेहीता भयो र ? यस्तै कुरा आउँछन् र त शंका गर्ने ठाउँ बढेका छन् । अनि ऋणीहरु यसरी आन्दोलनमै होमिएका छन् ।
कुरा प्रष्ट छ, ऋणीले बैंकलाई विश्वास गरेर सुन धितोमा राखेका हुन् । ऋण चुक्ता गरेपछि खासमा जस्ताको त्यस्तै धितो फिर्ता हुनुपर्छ । अव सुन लुटियो नै भनेपछि ऋणीको कुरा छ, ठिक छ, हाम्रो सुन नभए पनि त्यति नै सुन त चाहियो नि । र यो तर्कमा पूरा दम छ । ऋणीले राखेको धितो त चाहिहाल्यो नि । त्यसमाथि बैंकले त्यसको इन्स्योरेन्स गरेको होला, त्यसको पैसा पनि आउला । यहाँ ऋणीको कुनै गल्ती नै छैन भने अनि पीडाचाहिं ऋणीलाई दिने ? यो त हुँदै भएन ।
अनि अर्को महत्वपूर्ण कुरा, राष्ट्रिय वाणिज्य बैंकले के बुझ्नुपर्छ भने यहाँ केही तोला सुनको कुरा मात्र होइन, बैंकप्रति जनताको विश्वासको कुरा पनि हो । सुन त बैंककै कर्मचारीले लुकाए कि क्या हो भन्ने शंकालाई बल पुग्नेगरी व्यवहार गर्नुको साटो ल सुन हरायो रे, त्यसवापत अर्को सुन किनेर ऋणीलाई दिए त भईहाल्यो । बैंकले यस्तो गर्न नसक्ने पनि होइन । कि त्यसमा पनि कमिसन खोजेको हो भने त फरक कुरा, होइन भने, ऋणीको विश्वास बचाउन बैंकले त्यसो नगर्नुपर्ने कारण पनि त छैन ।

रकम नै हेर्ने हो भने पनि २० केजी सुनको जति पर्छ, त्यसलाई यसपालीको थप खर्च, वा ऋणीलाई दिएको क्षतिपूर्ति भनेर बुक गर्न पनि पक्का मिल्छ । फेरी सबै पैसा बैंकले हाल्ने पनि होइन, इन्स्योरेन्सबाट पैसा पनि आउँछ । अनि ऋणीलाई रैतीको जस्तो व्यवहार गरेर, बैंकमा त सुन सुरक्षित नहुने रहेछ भन्ने देखाएर, समग्र बैंकिङलाई नै धमिलो देखाउने खोजेर राष्ट्रिय वाणिज्य बैंकले गर्न खोजेको के हो त ? जेन-जी आन्दोलनका क्रममा थुप्रै संरचना जलेको छ, सरकारले त्यसलाई फेरी सरकारी खर्चमै बनाउँदैछ । राष्ट्रिय वाणिज्य बैंक पनि त सरकारी बैंक हो, चाहाने हो भने नसक्ने के छ र ? तर सीइओ साप आफ्नै खल्तीबाट पैसा जाने जस्तो किन गरिरहेका छन् भन्ने प्रश्न छ ऋणीको । यसमा सरकारको पनि ध्यान जाओस् । फेरी पनि कुरा केहि केजी सुनको होइन, बैंक प्रति जनताको विश्वासको हो । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्