Skip to content
LAXMI SUNRISE BANK

सिभिल अस्पतालमा मनपरीः बस्दैनन् फार्मेसीमा मान्छे, दिँदैनन् बिरामीलाई समयमा औषधि र उपचार !

अर्थ सरोकार

काठमाडौँ । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा चिकित्सक र कर्मचारीले चरम लापरवाही गर्ने गरेको पाइएको छ । बिरामीको स्वास्थ्यमाथि नै खेलवाड गर्दै अस्पतालका कर्मचारी र चिकित्सकले लापरवाही गर्ने गरेको पाइएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सेवा चुस्त र दुरुस्त गर्ने भने पनि सेवा भने साह्रै झुर भएको अस्पतालमा पुग्ने सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

सेवाग्राहीहरुका अनुसार पहिलो त अस्पताल भीड व्यवस्थापन गर्नबाटै चुकेको छ । दैनिक सयौँको संख्यामा सेवाग्राही पुग्ने भए पनि टिकट काट्नै घण्टौसम्म लाइन बस्नुपर्ने बाध्यता रहेको सेवाग्राहीहरुले बताएका छन् ।

‘बिरामी लिएर अस्पताल पुग्यो सुरुमै टिकट काट्न भनिन्छ । टिकट काट्न गयो, घण्टौँसम्म लाइन बस्नुपर्छ ।’, अस्पताल पुगेका एक सेवाग्राहीले भने, ‘कतिबेला पालो आउने ? कतिबेला टिकट काट्ने ? कतिबेला बिरामीको उपचार गर्ने ? साह्रै झयाउ छ ।’

अर्कोतर्फ बल्ल बल्ल टिकट काटेर बिरामीको उपचार सुरु भए पनि फार्मेसीमा मान्छे नहुँदा औषधी लिन अर्को झण्झट भोग्नुपर्ने ती सेवाग्राहीले गुनासो गरेका छन् ।

‘टिकट लिँदा लामो सास्ती खेपेर बिरामीको उपचार सुरु हुन्छ तर फार्मेसीमा फेरि त्यो भन्दा ठूलो झन्झट भोग्नुपर्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती सेवाग्राहीले भने, ‘फार्मेसीमा मान्छे हुँदैनन् । बल्ल बल्ल आउँछन् । औषधि लिन ढिलो भइसक्यो भन्दा उल्टै थर्काउँछन् ।’ ती सेवाग्राहीका अनुसार अझ सर्जिकल वार्डमा रहेका केही कर्मचारी र सुरक्षा गार्डले गर्ने व्यवहार झनै रुखो । कर्मचारीकै व्यवहारका कारण बिरामी र कुरुवालाई मानसिक तनाव बढेको सेवाग्राहीले बताए । उनले सो विषयमा अस्पताल प्रशासनमा उजुरी गर्दा पनि सुनुवाई नभएको सेवाग्राहीको गुनासो छ ।

‘सबै होइन, केही कर्मचारीको व्यवहार आपत्तिजनक नै छ ।’, ती सेवाग्राहीले भने, ‘यहाँ राम्रो व्यवहार गर्ने कर्मचारी र राम्रो परामर्श गर्ने चिकित्सक पनि छन् । तर बिरामी र कुरुवामाथि अमानवीय व्यवहार गर्ने केही कारणले दुःख पाएका छौँ ।’

अझ झनै डरलाग्दो विषय त सिभिल अस्पतालमा बिरामीलाई समयमा औषधि नै नदिने गरेको पनि पाइएको छ । एक सेवाग्राहीका अनुसार अस्पतालको इमर्जेन्सी वार्डमा भएका बिरामीलाई पनि अस्पतालका नर्स तथा चिकित्सकले समयमा औषधी दिँदैनन् । ‘बिहान ६ बजे दिनुपर्ने औषधि ८ बजे दिन्छन् । राती ११ बजे दिनुपर्ने औषधि १ बजेसम्म पनि दिँदैनन् ।’, उनले भने, ‘यस्तो लापरवाहीले बिरामीको ज्यान नै जोखिममा परेको छ ।’

यसो त केही दिनअघि मात्र अस्पतालको अ‍ैषधि खरिद प्रकरणमा अस्पतालका कर्मचारी पक्राउ परेका थिए । लगत्तै सरकारले सिभिल अस्पतालको सेवाप्रति चासो व्यक्त गर्दै अस्पतालको गुणस्तर बढाउने र सेवा चुस्त राख्न निर्देशन समेत दिएको थियो । तर, अस्पतालको सेवा ज्युँका त्युँ हुनुले सरकारको निर्देशन अटेर गर्ने सिभिल अस्पताल प्रशासनको नियतमाथि नै प्रश्न उठेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK