Skip to content
LAXMI SUNRISE BANK

टमाटरको भाउ किलोकै ८ रुपैयाँमा झरेपछि किसान आन्दोलित, प्रदर्शनपछि उपत्यका बाहिर ढुवानी सुरु (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । नेपाली बजारमा स्थानीय रूपमा उत्पादित गोलभेँडा (टमाटर) को मूल्यमा अत्यधिक गिरावट आएपछि काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रका किसानहरू आन्दोलित भएका छन् । छिमेकी मुलुक भारतबाट ठूलो परिमाणमा आयात भइरहेको सस्तो टमाटरका कारण स्वदेशी उत्पादनले बजार पाउन छाडेको, लागत मूल्यसमेत नउठ्ने अवस्था सिर्जना भएको भन्दै किसानहरूले बुधबार माइतीघर मण्डलामा टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेका थिए ।

किसानहरूको मुख्य गुनासो भारतीय टमाटरको अनियन्त्रित आयातका कारण नेपाली उत्पादन विस्थापित भएको हो । उनीहरूका अनुसार भारतीय बजारबाट सस्तो मूल्यमा आउने तरकारीले स्थानीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना गरेको छ । परिणामस्वरूप नेपाली टमाटर बारीमै कुहिने, बजारमा बिक्री नहुने र कतिपय अवस्थामा सडकमा फाल्नुपर्ने बाध्यता उत्पन्न भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको बुधबारको मूल्य विवरणले पनि किसानहरूले उत्पादनको उचित मूल्य नपाइरहेको पुष्टि गर्छ । समितिका अनुसार आज ठूलो नेपाली गोलभेँडाको थोक मूल्य प्रतिकेजी ३५ रुपैयाँ, सानो लोकल गोलभेँडाको ८ रुपैयाँ तथा टनेल प्रविधिबाट उत्पादन गरिएको सानो गोलभेँडाको १३ रुपैयाँ कायम भएको छ ।

समितिको विस्तृत तथ्यांक अनुसार सानो लोकल गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी ८ रुपैयाँ र अधिकतम १२ रुपैयाँ मात्र रहेको छ भने यसको औसत मूल्य ९ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यसैगरी टनेल प्रविधिबाट उत्पादन गरिएको सानो गोलभेँडाको औसत मूल्य प्रतिकेजी १४ रुपैयाँ ६० पैसा र ठूलो नेपाली गोलभेँडाको औसत मूल्य ३८ रुपैयाँ ७५ पैसा रहेको छ। यसले उपभोक्ताले खुद्रा बजारमा अपेक्षाकृत बढी मूल्य तिरे पनि प्रत्यक्ष उत्पादन गर्ने किसानले भने लागतसमेत नउठ्ने गरी न्यून मूल्य प्राप्त गरिरहेको देखाउँछ ।

टमाटरको उचित मूल्य नपाएको भन्दै किसानहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेपछि कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसान प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको थियो। छलफलका क्रममा किसानहरूले उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, सहज बजार पहुँच उपलब्ध गराउन तथा बिचौलियाको प्रभाव न्यूनीकरण गर्न सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको बताएका थिए । मन्त्री चौधरीले किसानका जायज मागप्रति मन्त्रालय गम्भीर रहेको बताउँदै तत्काल बजार व्यवस्थापन तथा आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पहल तथा कालीमाटी फलफूल तथा तरकारी बजारको समन्वयमा बुधबार नै कालीमाटीबाट टमाटर उपत्यका बाहिर ढुवानी सुरु गरिएको छ । काठमाडौँ उपत्यका बाहिर माग भएका विभिन्न बजारमा टमाटर आपूर्ति गरी किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण सिर्जना गर्ने उद्देश्यले ढुवानी थालिएको मन्त्रालयले जनाएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानको उत्पादनले उचित बजार र उचित मूल्य पाउने व्यवस्था गर्न बजार व्यवस्थापन, आपूर्ति प्रणाली सुदृढीकरण तथा बजार विस्तारका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

टमाटरको मूल्यमा आएको गिरावटले नेपाली कृषि क्षेत्रको पुरानो समस्या पुनः उजागर गरेको छ । उत्पादन बढे पनि बजार व्यवस्थापन, भण्डारण, प्रशोधन तथा आयात नियमन प्रभावकारी नहुँदा किसानले बारम्बार घाटा व्यहोर्नुपर्ने अवस्था रहेको भन्दै दीर्घकालीन समाधानको आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK