Skip to content
LAXMI SUNRISE BANK

भारतको सहयोगमा कञ्चनपुरको महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण सुरु

अर्थ सरोकार

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आइतबार शिलान्यास गरिएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।

भारत सरकारको करिब १ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project – HICDP) अन्तर्गत निर्माण हुनेछ । परियोजना भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

यो कञ्चनपुर जिल्लामा सञ्चालनमा रहेको ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । कार्यक्रममा भीमदत्त नगरपालिकाका जनप्रतिनिधि तथा अन्य सरोकारवालाले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि थप सुरक्षित र गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे ।

भारतीय पक्षले नेपाल र भारतबीचको निकट छिमेकी सम्बन्ध तथा बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यअनुसार शिक्षा लगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकासमा सहयोग निरन्तर जारी रहने जनाएको छ। साथै, यस्ता परियोजनाले नेपाल सरकारको विकास र समृद्धिको अभियानलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK