Skip to content
LAXMI SUNRISE BANK

डाक्टरको आन्दोलनः देशभर आकस्मिक बाहेक सबै सेवा ठप्प, नागरिकलाई सास्ती, बिरामीलाई झन् धेरै सास्ती ! (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । नेपाल चिकित्सक संघले बुधबार पनि देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकार उदासीन बनेको भन्दै सङ्घले दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएको हो ।

सङ्घको आन्दोलनका कारण देशभरका अस्पतालहरूमा ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया तथा अन्य गैरआकस्मिक सेवाहरू प्रभावित भएका छन् । यद्यपि आकस्मिक सेवा भने सञ्चालनमा राखिएको छ ।

काठमाडौँका प्रमुख सरकारी अस्पतालहरूमा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । विशेषगरी शिक्षण अस्पताल र वीर अस्पतालमा सेवा लिन आउने बिरामीहरूको भीड देखिएको छ । नियमित सेवा बन्द हुँदा उपचारका लागि आएका धेरै बिरामी निराश भएर फर्किन बाध्य भएका छन् भने केही बिरामी आकस्मिक सेवा वा वैकल्पिक अस्पतालको खोजीमा पुगेका छन् ।

नेपाल चिकित्सक सङ्घले दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याई स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नगरेसम्म आन्दोलनका कार्यक्रमलाई थप कडा बनाउन सकिने चेतावनी दिएको छ ।

उता बिरामी तथा सर्वसाधारणले स्वास्थ्य सेवा अवरुद्ध हुँदा उपचारमा कठिनाइ भएको भन्दै सरकारले चिकित्सकहरूको जायज माग सम्बोधन गरी स्वास्थ्य सेवा यथाशीघ्र सहज बनाउनुपर्ने माग गरेका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK