Skip to content
LAXMI SUNRISE BANK

पेटिएम पेमेन्ट्स बैंक खारेज गर्न दिल्ली उच्च अदालतको आदेश

अर्थ सरोकार

काठमाडौँ । भारतको पेटिएम पेमेन्ट्स बैंक लिमिटेड खारेज हुने भएको छ । दिल्ली उच्च अदालतले पेटिएम पेमेन्ट्स बैंक खारेज गर्न आदेश दिएको हो । 

भारतीय रिजर्भ बैंक (आरबिआई)ले पेटीएम पेमेन्ट्स बैंकको गतिविधिहरु निक्षेपकर्ताको हितविपरीत रहेको र नियामक नियमको पालना नगरेको ठहर गर्दै सन् २०२६ अप्रिलमा बैंकको लाइसेन्स रद्द गरेको थियो ।

सोही बेला आरबिआईले पेटिएम पेमेन्ट्स बैंकलाई पूर्ण रुपमा खारेज गर्न दिल्ली उच्च अदालत जाने घोषणा समेत गरेको थियो । 

त्यसपछि सन् २०२६ जुलाई ८ र जुलाई २२ का आदेशमार्फत अदालतले ‘बैंक नियमन ऐन १९४९’ र ‘कम्पनी ऐन २०१३’ अनुसार पेटिएम पेमेन्ट्स बैंकलाई पूर्ण रुपमा खारेज गर्ने प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । 

हाल उच्च अदालत दिल्लीले स्टेट बैंक अफ इन्डिया (एसबिआई)का पूर्व मुख्य महाप्रबन्धक गिरीकुमार एम. नायरलाई पेटिएम पेमेन्ट्स बैंकको आधिकारिक लिक्विडेटर नियुक्त गरेको छ । नायरलाई बैंक नियमन ऐन र कम्पनी ऐन अन्तर्गतका सबै कानूनी शक्ति प्रयोग गर्ने अधिकार दिइएको आरबिआईले जनाएको छ । 

यसअघि सन् २०२२ मा आरबिआईले पेटिएम पेमेन्ट्स बैंकलाई नयाँ ग्राहक थप्न रोक लगाएको थियो । पछि सन् २०२४ मा आरबिआईले पुनः पेटिएम पेमेन्ट्स बैंकमाथि नयाँ निक्षेप, क्रेडिट र टपअपमा कडा प्रतिबन्ध लगाएको थियो । यति गर्दा पनि पेटिएम पेमेन्ट्स बैंकले नियम उल्लंघन गर्न नछोडेपछि अन्ततः बैंक नै खारेज गर्नुपरेको आरबिआईले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK