Skip to content
LAXMI SUNRISE BANK

२० वाणिज्य बैंकका सिइओहरुसँग अर्थमन्त्रीले गरे छलफल, के भने ?

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुसँग छलफल गरेका छन् । मंगलबार वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका उपायहरुको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे छलफल गरेका हुन् ।

छलफलमा २० वाणिज्य बैंकका सिइओहरु सहभागी थिए ।

छलफलमा अर्थमन्त्री डा. वाग्लेले अर्थतन्त्र, बैंक तथा वित्तीय संस्थाको भूमिका र आर्थिक सुधारका उपायहरुबारे छलफल गरेका छन् । यस्तो छ छलफलमा डा. वाग्लेले गरेको लिखित सम्बोधनः

आजको बैठक सामान्य औपचारिक छलफल नभई यो नेपालको अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको अर्को चरण हो । निजी उद्योगीहरूसँगको घनिभुत संवादपछि आज हामी वित्तीय प्रणालीको नेतृत्व गरिरहेका तपाईँहरूसँग बसेका छौँ । किनकि उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणाली नै छ ।

वास्तवमा, वाणिज्य बैंकहरू अर्थतन्त्रका सबैभन्दा महत्वपूर्ण संगम हुन् । यहाँ बचतकर्ता पनि आउँछन्, उद्यमी पनि आउँछन्, किसान पनि आउँछन्, उद्योगी पनि आउँछन्, लगानीकर्ता पनि आउँछन् र नयाँ व्यवसाय सुरु गर्न चाहने युवा पनि आउँछन् । त्यसैले अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा यहाँहरूले नै महसुस गर्नुहुन्छ ।

बजेटमार्फत हामीले नेपालको आर्थिक रूपान्तरणका लागि एउटा स्पष्ट दिशा तय गरेका छौँ । अब हाम्रो ध्यान कार्यान्वयनमा छ । त्यसैले आज म बजेट कार्यान्वयनसंगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न यहाँहरूको अनुभव र सुझाव सुन्न आएको छु ।

हामी सबैको साझा लक्ष्य एउटै छ– नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउने। लगानी बढाउने । उत्पादन विस्तार गर्ने। रोजगारी सिर्जना गर्ने। र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने । सरकारका तर्फबाट हामी नियामकीय, कानुनी र संस्थागत सुधारको प्रक्रिया अगाडि बढाइरहेका छौँ। तर एउटा प्रश्न हामीले आफैँलाई सोध्नुपर्छ– ‘के यी सुधारहरू पर्याप्त छन् ? अझ के गर्नुपर्छ’

आज म विशेष गरी यही विषयमा खुला र स्पष्ट छलफल चाहन्छु ।

आज नेपालको अर्थतन्त्रको मनोविज्ञान वास्तवमा कस्तो छ ? व्यवसायी किन लगानी विस्तार गर्न हिच्किचाइरहेका छन् ? ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन ? बैकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन र लगानीमा किन रूपान्तरण हुन सकेको छैन ? यसको समाधान मौद्रिक नीतिमा छ, वित्तीय नीतिमा छ, कि निजी क्षेत्रको आत्मविश्वासमा ?

बैंकिङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के–कस्ता संरचनागत सुधार आवश्यक छन् ? मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छरु अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ ?

यी विषयमा म यहाँहरूको स्पष्ट र निष्कपट धारणा चाहन्छु ।

आजको छलफल केवल समस्या पहिचानमा सीमित रहने छैन । हामी समाधान, समयसीमा र जिम्मेवारीसहित अगाडि बढ्न चाहन्छौँ । जहाँ कानुनी सुधार आवश्यक छ, त्यहाँ कानुन सुधार्नेछौँ । जहाँ प्रक्रियागत समस्या छ, त्यहाँ प्रक्रिया बदल्नेछौँ । जहाँ संस्थागत समन्वय आवश्यक छ, त्यहाँ समन्वय गर्नेछौँ । जहाँ सरकारबाट निर्णय आवश्यक छ, त्यहाँ निर्णय लिन हामी पछि हट्ने छैनौँ ।

हामी अर्थतन्त्रलाई प्रतिक्रियात्मक ढङ्गले होइन, आत्मविश्वासले भरिएको, निर्णयक्षम र भविष्यप्रति आशावादी अर्थतन्त्र बनाउन चाहन्छौँ । त्यसैले आजको बैठकलाई बैंकिङ क्षेत्रसँगको आवधिक संवादका रूपमा होइन, नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाउने कार्यशालाका रूपमा अघि बढाऔँ ।

म एउटा कुरा स्पष्ट भन्न चाहन्छु– सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र होइनस साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो । आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रो साझा उद्देश्य हो । त्यसैले आजका सुझावहरू केवल छलफलमा सीमित रहने छैनन्ः तिनलाई कार्यान्वयनको स्पष्ट रोडम्यापमा रूपान्तरण गर्ने हाम्रो प्रतिबद्धता छ ।

हामी सबैको साझा एजेन्डा एउटै हो– विश्वास निर्माण गर्ने, लगानी विस्तार गर्ने, उत्पादन बढाउने र नेपाललाई उच्च वृद्धि तथा उच्च उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउने ।

समस्यामाथि खुला छलफल गरौँ, समाधान खोजौँ । आजको संवादबाट कार्यान्वयनयोग्य निष्कर्ष निकालौँ ।

धन्यवाद ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK