Skip to content
LAXMI SUNRISE BANK

२१औँ ‘अडान डे’ सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । नेपाल अडिटर्स एशोसिएसन (अडान) को २१औँ स्थापना दिवसको अवसरमा आयोजित ‘अडान डे’ देशभर विभिन्न व्यावसायिक तथा सामाजिक कार्यक्रमका साथ भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ । सप्ताहव्यापी रूपमा आयोजना गरिएको यस कार्यक्रमअन्तर्गत वित्तीय सुशासन, लेखापरीक्षण पेशाको सुदृढीकरण, कृत्रिम बुद्धिमत्ता, समसामयिक आर्थिक तथा कर सम्बन्धी विषयहरूमा केन्द्रित अन्तरक्रिया, सेमिनार, गोष्ठी तथा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए ।

सोहि अवसरमा नयाँ बानेश्वर, काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा आयोजित मूल समारोहमा पहिलो चरणअन्तर्गत तीनवटा प्राविधिक सत्र सञ्चालन गरिएको थियो भने दोस्रो चरण उद्‌घाटन तथा औपचारिक समारोहका रूपमा सम्पन्न भएको थियो ।

कार्यक्रममा महालेखापरीक्षक माननीय तोयम रायाको प्रमुख आतिथ्यता तथा प्रतिनिधि सभा सदस्य माननीय नरेन्द्र कुमार केरुङको विशिष्ट आतिथ्यता रहेको थियो । साथै, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष आनन्दराज शर्मा वाग्ले, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भिष्म राज भुसाल, साफाका उपाध्यक्ष प्रविन कुमार झा, एशियन ओसिनियन स्ट्यान्डर्ड सेटर्स ग्रुपका उपाध्यक्ष प्रकाश जंग थापा, नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल, एक्यानका अध्यक्ष अनुप नेपाल, अडानका निवर्तमान अध्यक्ष केदार नाथ पौडेल, पूर्व अध्यक्ष मोहन राज रेग्मी, संस्थापक अध्यक्ष कमल खरेल, अडानका केन्द्रीय पदाधिकारीहरु तथा विभिन्न व्यावसायिक संस्थाका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

अडानका अध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षता तथा महासचिव तिलक बहादुर अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा देशभरबाट करिब ८०० जना रजिष्टर्ड अडिटर, चार्टर्ड एकाउन्टेन्ट, व्यावसायिक लेखापाल, कर्पोरेट प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमअन्तर्गत ‘व्यावसायिक लेखा तथा लेखापरीक्षणमा कृत्रिम बुद्धिमत्ता : अवसर, चुनौती र भविष्यू’, ‘सामाजिक सुरक्षा कोष: प्रभावकारी कार्यान्वयन, लाभ तथा अवसरहरू’ तथा ‘नेपालको आयकर ऐन तथा कर प्रणाली: वर्तमान समस्या, चुनौती र सुधारका रणनीतिहरू’ विषयमा तीनवटा प्राविधिक कार्यपत्र प्रस्तुत गरिएको थियो। प्रस्तुत कार्यपत्रहरूमाथि सम्बन्धित क्षेत्रका विज्ञ, नियामक निकायका प्रतिनिधि तथा व्यावसायिक संस्थाका पदाधिकारीहरूले टिप्पणी तथा अन्तरक्रिया गर्दै विषयवस्तुलाई थप व्यावहारिक र समसामयिक बनाएका थिए ।

उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै अडानका अध्यक्ष बद्री प्रसाद भट्टराईले लेखापरीक्षण पेशाको विकास, रजिष्टर्ड अडिटरहरूको क्षमता अभिवृद्धि, पेशागत हकहितको संरक्षण तथा वित्तीय सुशासन प्रवर्द्धनमा अडानले विगत दुई दशकदेखि निर्वाह गर्दै आएको भूमिकाबारे प्रकाश पारेका थिए । उनले बदलिँदो व्यावसायिक परिवेशअनुसार सदस्यहरूको क्षमता विकास, प्रविधिमैत्री लेखापरीक्षण तथा संस्थागत सुदृढीकरणका लागि अडान निरन्तर प्रतिबद्ध रहने बताए ।

प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायाले महालेखापरीक्षकको कार्यालय लेखापरीक्षण क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि सधैँ सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा आवश्यक नीतिगत सुधार तथा कानुनी संशोधनका विषयमा समेत सहकार्य गर्न तयार रहेको बताएका थिए । उनले समयको मागअनुसार दक्ष जनशक्ति उत्पादन, प्रविधिको प्रभावकारी प्रयोग तथा व्यावसायिक क्षमता अभिवृद्धिलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य माननीय नरेन्द्र कुमार केरुङले आगामी दशकमा लेखापरीक्षण क्षेत्रमा हुने पुस्तान्तरणलाई ध्यानमा राखी विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा दिन सक्ने दक्ष रजिष्टर्ड अडिटर उत्पादनका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गरे । त्यस्तै, शुभकामना मन्तव्यका क्रममा आइक्यानका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले लेखापरीक्षण पेशाको विकासमा अडानले खेलेको भूमिकाको प्रशंसा गर्दै दुवै संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे भने अडानका पूर्व अध्यक्ष मोहनराज रेग्मीले संस्थाले हासिल गरेको व्यावसायिक उचाइलाई अझ सुदृढ बनाउँदै भविष्यमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

यस अवसरमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित अडानका आजीवन सदस्य तथा पूर्व जिल्ला अध्यक्ष माननीय नरेन्द्र कुमार केरुङ, आइक्यानका नवनिर्वाचित अध्यक्ष आनन्दराज शर्मा वाग्ले, उपाध्यक्ष हेम कुमार काफ्ले तथा नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताललाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

स्थापना दिवसको अवसरमा अडान उपत्यका प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए । साथै देशभरका प्रदेश तथा जिल्ला कार्यसमितिहरूद्वारा अन्तरक्रिया, फुटसल प्रतियोगिता, सेमिनार, वृक्षारोपण, वृद्धाश्रममा भोजन तथा फलफूल वितरण, असहाय व्यक्तिहरूलाई सहयोग तथा अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरी २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइएको थियो ।

कार्यक्रमको अन्त्यमा अडानका वरिष्ठ उपाध्यक्ष एवम् २१औं अडान डे मूल आयोजक समितिका संयोजक डा। डोलप्रसाद दाहालले धन्यवाद ज्ञापन गर्नुभएको थियो। त्यसपछि प्रमुख अतिथि, विशिष्ट अतिथिहरू तथा अडानका पदाधिकारीहरूले संयुक्त रूपमा स्थापना दिवसको केक काटी शुभकामना आदानप्रदान गर्दै २१औँ स्थापना दिवस समारोह सम्पन्न भएको घोषणा गरिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK