Skip to content
LAXMI SUNRISE BANK

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणः तत्कालीन सिइओसहित ३ जना पक्राउ, सय बढी अझै फरार !

अर्थ सरोकार

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) पक्राउ परेका छन् । आर्थिक हिनामिना र बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि बैंकका तत्कालीन सिइओ नीरजविक्रम शाहलाई पक्राउ गरिएको हो ।

सिइओ शाहलाई नेपालगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

प्रहरीका अनुसार सिइओ शाहसहित उनकी श्रीमती शुभेक्षा श्रेष्ठ र कर्णाली डेभलपमेन्ट बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाईसमेत पक्राउ गरिएको छ । 

उक्त प्रकरणमा प्रहरीले केहीलाई यसअघि नै पक्राउ गरिसकेको छ भने केही प्रतिवादी भने अझै फरार छन् । बैंकमा ठूलो आर्थिक घोटाला भएको फेला परेपछि राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई गत पुस १० गते समस्याग्रस्त घोषणा गरेको थियो । 

बैंकभित्र बिना धितो ठूलो ऋण प्रवाह गरिएको, ओभर भ्यालुएसन गरेर करोडौँ ऋण दिइएको तथ्य फेला परेपछि प्रहरीले बैंकभित्रको घोटालाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा सीआईबीले बैंकमा ३ अर्ब २० करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको निष्कर्ष निकालेको छ । 

उच्च अदालत तलुसीपुरमा दर्ता गरिएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा सीआईबीले १०९ जनालाई प्रतिवादी बनाएको छ । सो प्रकरणमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी र राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत पक्राउ परिसकेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK