Skip to content
LAXMI SUNRISE BANK

अस्ट्रेलियामा एक भन्दा बढी काम गर्नेको संख्या १० लाख पुग्यो, सबैभन्दा धेरै महिला !

अर्थ सरोकार

काठमाडौँ । अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्ने मानिसको संख्या जुन २०२६ मा १० लाख पुगेको छ । यो कुल रोजगारीमा रहेका मानिसको ६.९ प्रतिशत हो, जुन अहिलेसम्मकै उच्च दर रहेको आधिकारिक तथ्यांकले देखाएको छ । 

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार मार्चमा ९ लाख ८४ हजार २०० रहेको एकभन्दा बढी काम गर्नेको संख्या जुनसम्ममा ६.६ प्रतिशतले बढेको  हो । यस अवधिमा १ करोड ४१ लाख मानिसले भने एउटै रोजगारी गरिरहेका थिए । 

तथ्यांक अनुसार पुरुषको तुलनामा महिलाले एकभन्दा बढी काम गर्ने सम्भावना बढी देखिएको छ । रोजगारीमा रहेका महिलामध्ये ७.७ प्रतिशतले एकभन्दा बढी काम गरिरहेका छन् भने पुरुषमा यस्तो दर ६.२ प्रतिशत रहेको छ । 

उमेर समूहअनुसार २० देखि २४ वर्ष उमेर समूहमा एकभन्दा बढी काम गर्नेको दर सबैभन्दा धेरै ११.२ प्रतिशत रहेको छ । त्यस्तै, ६५ वर्ष वा सोभन्दा माथिका रोजगारीमा रहेका मानिसमध्ये ३.१ प्रतिशतले मात्र एकभन्दा बढी काम गरिरहेका छन् । 

सन् १९९४ देखि २०१९ सम्म अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्नेको दर सामान्यतया ५ देखि ६ प्रतिशतको बीचमा थियो । तर कोभिड-१९ महामारीका क्रममा यो दर तिव्र रूपमा घटेको थियो । 

महामारीपछि भने बहु-रोजगारी गर्नेको संख्या पुनः बढ्दै गएको छ । जुन २०२२ यता यो दर ६.४ प्रतिशत वा सोभन्दा माथि रहँदै आएको छ र जुन २०२६ मा ६.९ प्रतिशतको नयाँ रेकर्ड कायम भएको हो । मार्चको तथ्यांक अनुसार, एकभन्दा बढी काम गर्ने व्यक्तिले आफ्ना सबै रोजगारीमा गरी औसत साप्ताहिक ३९.३ घण्टा काम गरेका थिए । एउटै काम गर्ने व्यक्तिको औसत साप्ताहिक कार्यसमय भने ३४.८ घण्टा थियो । तथ्यांकले अस्ट्रेलियाका क्षेत्रीय तथा ग्रामीण क्षेत्रमा राजधानी सहरहरूको तुलनामा एकभन्दा बढी रोजगारी गर्ने प्रवृत्ति बढी रहेको पनि देखाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK