Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फन्डमा पर्यो मागभन्दा बढी आवेदन

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालन भइरहेको ‘एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फन्ड’ को इकाइ खरिदका लागि आवेदन दिने समय आजदेखि बन्द हुने भएको छ ।

प्रति इकाइ १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइमध्ये न्यूनतम १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाइ योजना प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित राखिएको छ । बाँकी ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

योजनाका लागि असोज ७ गतेदेखि असोज १३ गतेसम्म आवेदन खुला गरिएकोमा मागभन्दा बढी आवेदन परेपछि असोज १२ गते साँझ ५ बजेसम्म ८० करोड रुपैयाँभन्दा बढी रकम बराबरको इकाइ खरिद आवेदन परिसकेको जनाइएको छ ।

स्वीकृत विवरण पुस्तिकाअनुसार फन्डको आकार ८० करोड रुपैयाँबाट बढाएर अधिकतम १ अर्ब रुपैयाँसम्म पुर्‍याउन सकिने व्यवस्था छ । त्यसैले इकाइ खरिदका लागि आवेदन दिने समय आज असोज १३ गते बैंकिङ समयसम्म कायम रहनेछ ।

यो फन्ड १० वर्ष अवधिको छैटौँ बन्दमुखी योजना हो । फन्डमा संकलित अधिकांश रकम धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गरिनेछ । सम्भावित राम्रो प्रतिफल तथा वृद्धि क्षमता भएका कम्पनीको अध्ययन र अनुसन्धान गरी लगानी गर्ने योजना व्यवस्थापकले जनाएको छ ।

इकाइ खरिदका लागि न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सकिनेछ । आवेदन सी–आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट वा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयरमार्फत दिन सकिनेछ ।

नेपाली नागरिक, गैरआवासीय नेपालीको परिचयपत्र भएका व्यक्ति, कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघ–संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत विभिन्न संस्थागत लगानीकर्ताले समेत इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK