Skip to content
LAXMI SUNRISE BANK

उखु किसानको भुक्तानीमा ढिलाइबारे सरकारले भन्यो- ‘अब एक-दुई दिनमै समस्या हल हुन्छ’

अर्थ सरोकार

काठमाडौँ । कैलाली र बर्दियाका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अबको केही दिनभित्रै निकासा हुने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक प्रक्रिया पूरा गरेर यथाशीघ्र किसानको खातामा रकम पठाउने तयारी गरेको जनाएको हो । 

बिहीवार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानको भुक्तानीका लागि मन्त्रालयले उच्च प्राथमिकता दिएको बताए । 

उनले भुक्तानीमा भएको ढिलाइप्रति किसानको गुनासो जायज भएको स्वीकार गर्दै प्रशासनिक र प्राविधिक प्रक्रियाका कारण असारमै हुनुपर्ने भुक्तानीमा ढिलाइ हुन पुगेको स्पष्ट पारेका छन् । भुक्तानी प्रक्रियालाई सकेसम्म दशैँअघि नै सम्पन्न गर्ने प्रयास भइरहेको पनि मिश्रले बताएका छन् । 

उखु किसानले लामो समयदेखि बक्यौता रकमका लागि पटक-पटक ताकेता गर्दै आएका छन् । यसअघि मन्त्रालयले भुक्तानीका लागि निर्णय गरिसकेको भएपनि कार्यान्वयन पक्षमा देखिएको सुस्तताका कारण किसान मारमा परेका थिए । सचिव मिश्रले भने किसानलाई ढुक्क रहन आग्रह गर्दै मन्त्रालयले निरन्तर फलोअप गरिरहेको जानकारी गराए ।

सरकारी अधिकारीहरूले भुक्तानी प्रक्रियामा ढिलाइ नहुने आश्वासन पटक-पटक दिँदै आए पनि फिल्ड तहमा किसानले सास्ती खेप्नुपर्ने अवस्था कायमै छ । अब मन्त्रालयले भनेजस्तै एक-दुई दिनभित्र भुक्तानी हुन्छ कि हुँदैन भन्नेकुराले किसानको आगामी दशैँको रौनक निर्भर गर्नेछ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK