Skip to content
LAXMI SUNRISE BANK

काँग्रेसमा १५औँ महाधिवेशनको सरगर्मीः नवीन काँग्रेसको एजेण्डासहित केन्द्रीय सदस्यमा डा. भद्राको दाबी

अर्थ सरोकार

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका आकांक्षीहरू बढ्दै गएका छन् । यसैक्रममा सभापति गगन थापाको वैचारिक धारसँग निकट रहेर पार्टी राजनीतिमा सक्रिय डा. भद्रा पराजुली भण्डारीले केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गरेकी छन् ।

पार्टी रूपान्तरण, पुस्तान्तरण र नीतिगत सुधारको एजेन्डालाई प्राथमिकता दिँदै आएकी भण्डारीले आफ्नो उम्मेदवारीलाई ‘नवीन कांग्रेस’ निर्माणको अभियानसँग जोडेर अघि सारेकी छन् । काँग्रेसलाई समयसापेक्ष, आधुनिक र जनउत्तरदायी बनाउन केन्द्रीय समितिमा वैचारिक तथा ऊर्जाशील नेतृत्वको आवश्यकता रहेको उनको धारणा छ ।

नेपाली काँग्रेसको विशेष महाधिवेशनमा सक्रिय भूमिका निर्वाह गरेकी भण्डारीले पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण विभागमा रहेर समेत काम गरिसकेकी छन् । विभागमा रहँदा पार्टीका नीति, समसामयिक राजनीतिक विषय र नयाँ विचारलाई कार्यकर्तामाझ पु¥याउन उनले भूमिका खेलेकी थिइन् ।

बागमती प्रदेश कार्यसमितिमा रहेर काम गरिसकेकी भण्डारी पार्टी संगठनका साथै समसामयिक राजनीति, पार्टीका चुनौती र महिला नेतृत्वका विषयमा लेखन तथा विश्लेषणमा पनि सक्रिय छन् ।

कांग्रेसमा महिला सहभागिता संख्यात्मक प्रतिनिधित्वमा मात्र सीमित हुन नहुने बहस भइरहेका बेला भण्डारीले आफ्नो उम्मेदवारीलाई नीतिगत र वैचारिक भूमिकासँग जोडेर प्रस्तुत गरेकी छन् । उनको उम्मेदवारीलाई पार्टीभित्र महिला नेतृत्वको सशक्त उपस्थिति र वैचारिक बहसलाई अगाडि बढाउने प्रयासका रूपमा हेरिएको छ ।

‘१५औँ महाधिवेशन कांग्रेसका लागि केवल नेतृत्व चुन्ने कर्मकाण्ड होइन, यो त पार्टीको भविष्य र रूपान्तरणको दिशा तय गर्ने ऐतिहासिक अवसर हो ।’, भण्डारीले भनेकी छन्।

गगन थापाले अघि सारेको ‘नवीन कांग्रेस’को अवधारणालाई संस्थागत गर्न केन्द्रीय समितिमा नयाँ सोच, ऊर्जा र नीतिगत स्पष्टता भएका व्यक्तिहरूको उपस्थिति आवश्यक रहेको उनको भनाइ छ ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने क्रममा डा. भद्रा पराजुली भण्डारीको उम्मेदवारीलाई पनि महाधिवेशन प्रतिनिधि तथा पार्टीभित्र चासोका साथ हेरिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK