काठमाडौँ । बैंकले लिलाम गरेको घरमा टोलवासी मिलेर पुरानै घरधनीलाई भित्राएका छन् । लुम्बिनी विकास बैंकले लिलाम गरेको बुटवलको मिलनचोकस्थित एक घरमा टोलवासी मिलेर पुरानै घरधनीलाई भित्राएका हुन् ।
बैंकले तेस्रो व्यक्तिसँगको मिलेमतोमा कम्तीमा डेढ करोड रुपैयाँ पर्ने घर ५३ लाखमै लिलाम गरेको भन्दै टोलवासी र दुर्गा प्रसाईं नेतृत्वको समूहले पुरानै घरधनीलाई घरमा भित्राएका हुन् ।
को हुन् पुराना घरधनी ? के हो लफडा ?
लुम्बिनी विकास बैंकले लिलाम गरेको भनिएको उक्त घरका घरधनी दुर्गाबहादुर पौडेल र लक्ष्मी बस्नेत पौडेल हुन् । उनीहरु व्यवसायी हुन् ।
पौडेलले लुम्बिनि विकास बैंकबाट छापाखाना सञ्चालनका लागि भन्दै ४८ लाख रुपैयाँ ऋण लिएका थिए । तर, बीचमा मन्दीका कारण व्यवहार बिग्रिएपछि उनीहरुले केही किस्ता तिर्न सकेनन् । बैंकको दाबी अनुसार उनीहरुले ४८ लाख रुपैयाँ ऋण र ऋणको ब्याजसमेत गरी बैंकलाई ५८ लाख रुपैयाँ तिर्न बाँकी छ ।
यता ऋण चुक्ता नगरेको भन्दै बैंकले सो घर ५३ लाख रुपैयाँमा लिलाम गरेको थियो । उक्त घर सुर्खेत ठेगाना भएका गोविन्द लामिछानेले खरिद गरेका थिए ।
स्थानीयको दाबी- ‘उक्त घर डेढ करोड भन्दा कमको छैन’
स्थानीयहरुले भने उक्त घरको मूल्य डेढ करोड भन्दा कम नभएको दाबी गरेका छन् । अहिलेको बजार मूल्य अनुसार बैंकले घर लिलाम गरेको मूल्य (५३ लाख) मा ३ धुर जग्गासमेत नआउने स्थानीयको दाबी छ ।
यसो त कर्जा प्रवाह गर्दा बैंक स्वयम्ले उक्त घरको ८१ लाख ९१ हजार रुपैयाँ भ्यालुएसन गरेको पूर्व घरधनी पौडेलले बताएका छन् । तर, लिलामीको नाममा बैंकले कौडीको भाउमा घर बेचेको पौडेलको आरोप छ । उनले घर बेचेर ऋण तिर्ने सम्झौता भए पनि बैंकले बलजफ्ती गरेर घर लिलाम गरेर उठिबास लगाएको बताएका छन् ।
यतिसम्म कि पूर्व घरधनी र स्थानीयले डेढ करोड रुपैयाँ पर्ने घर ५८ लाख ऋण असुलीका लागि बैंकले ५३ लाखमा बेच्नुमा मिलेमतोको समेत आशंका गरेका छन् ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतको ऋणी एशोसिएसनका संयोजक देवी संग्रौलाले नियम विपरीत ऋणीमाथि ज्यादती गर्दै बैंकले डेढ करोडको घर ५३ लाखमा बेचेपछि घर फिर्ता गरिएको बताएका छन् । उनले यही स्थिति रहे लिलाम गरिएका सबै सम्पत्ति पालैपालो ऋणीलाई फिर्ता गराउँदै जाने पनि दाबी गरेका छन् ।
बैंक भन्छ- ‘ऋण नतिरेपछि प्रक्रिया पुराएर लिलाम गरिएको हो’
यता बैंकका सूचना अधिकारी हरिकृष्ण सुवेदीले उक्त धितो बैंकले सबै प्रक्रिया पूरा गरेर लिलाम गरिएको बताएका छन् । उनका अनुसार सो ऋण ४-५ वर्ष पुरानो हो ।
तर, ऋणीले ऋण नतिरेपछि प्रक्रिया पुरा गरेर धितो लिलाम गरे पनि अहिले अनेक बाहना बनाएर निहुँ खोज्ने काम भइरहेको सुवेदीले बताएका छन् । ‘सबै प्रक्रिया पूरा गरेर धितो लिलाम गरिएको हो । उनीहरुले जिल्ला अदालतमा मुद्दा हालेका थिए, सो मुद्दा पनि हारिसकेका छन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै सुवेदीले भने, ‘बैंकले कुनै त्रुटि गरेको छैन । कर्जा तिर्दैनन्, लिलाम भइसकेपछि यस्तै यस्तै गर्छन् ।’
त्यस्तै, डेढ करोडको घर ५३ लाखमा चाहिँ किन बेचेको भन्ने प्रश्नमा उनले धितो मूल्यांकन आफूले नगर्ने र इन्जिनियरले नै गर्ने भएकाले मूल्यांकनकै आधारमा घर लिलाम गरिएको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्