दार्चुला । व्यास गाउँपालिका१ छाङ्गरुदेखि भारतले अतिक्रमण गरेको कालापानी भूमि पुग्ने गरी घोेरेटो बाटो निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको व्यास विषेश कार्यक्रमअन्र्तगत घोरेटो बाटो निर्माण भइरहेको हो । व्यासको छाङ्गरुबाट कालापानी जाने बाटो ठाउँठाउँमा पहिरो गएर भत्किएपछि अहिले प्रदेशको विशेष कार्यक्रमअन्तर्गत निर्माण भइरहेको हो । यसअघि सो क्षेत्रमा पञ्चायतकालमा घोरेटो बाटो निर्माण गरिएको थियो । पञ्चायतकालयता मर्मत हुन नसकेको बाटो अहिले आएर प्रदेश विशेष योजनाअन्तर्गत निर्माण भइरहेको छ ।
प्रदेश सरकारको ३० लाखमा छाङ्गरुदेखि कालापानी जोड्ने बाटो निर्माण तथा बाटो मर्मतको काम भइरहेको वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । छाङ्गरुदेखि कालापानीसम्म झण्डै १४ किलोमिटर बाटो पर्दछ । उहाँले भन्नुभयो, ‘यो क्षेत्रमा पञ्चायतकालमा छाङ्गरुको स्थानीय कालापानी भएर तिब्बत व्यापारमा जाने बाटो हो । त्यो बेला यो क्षेत्रमा फराकिलो र घोरेटो बाटो थियो । भत्किएका केही ठाउँमा नयाँ बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘अहिले यो बाटो विगतकै जस्तो चौडा बाटो निर्माण भइरहेको छ ।
विगतमा स्थानीयवासीले आवतजावत गर्दै आएको यो बाटो पछिल्लो समय भारतले कालापानीमा आफ्नो सेना राखेपछि स्थानीयलाई आवतजावतमा रोक लगाएको छ । तीन वर्ष अघिसम्म स्थानीयले सहज रुपमा कालापानी क्षेत्रसम्म पूजा गरेर आउँथे । नेपालले आफ्नो भूमि भएको दाबी गर्दैै नक्सा प्रकाशन गरेपछि भारतले झन नेपालको भूमि मिचेर अगाडि बढेको उहाँको भनाइ छ । ‘हाम्रा बुबा बाजेहरु चीनको तिब्बत जाने, घोडा खच्चड लिएर हिड्ने पुख्र्यौली बाटो यहि हो’, व्यास १ का विमल बोहराले भन्नुभयो, ‘ठाउँठाउँमा अहिले पनि खच्चड बस्ने पडाउहरु छन् । भत्किएका घरहरु अहिले पनि देखिन्छन् । अहिले भारतले माथिल्लो कौवाभन्दा माथि जान रोक लगाएको छ ।’
निर्माणाधीन बाटोको जनप्रतिनिधि र सशस्त्र प्रहरीको टोलीले संयुक्त टोलीले अनुगमन गरेको छ । वडाध्यक्ष बोहरा तथा छाङगरुस्थित ५० नम्बर गुल्मका सशस्त्र प्रहरीका डिएसपी धीरेन्द्र शाह नेतृत्वको सशस्त्र टोली टोलीले केही सिमयअघि घोरेटो बाटोको अनुगमन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले व्यासमा विशेष कार्यक्रम सञ्चालन गरेको छ । भारतले लिपुलेक सडकको उद्घाटनपश्चात त्यस क्षेत्रमा भ्रमणमा पुगेका सुदरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रका लागि प्रदेश सरकारले विषेश प्याकेज ल्याउने घोषणा गर्नुभएको थियो । -रासस