गोरखा । असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका-५ स्थित माछाखोलामा ठूलो क्षति पुर्याएको छ । बाढीले घर, गोदाम तथा व्यापारिक संरचना बगाएपछि स्थानीय व्यापारीहरू करोडौँ रुपैयाँको क्षति व्यहोर्न बाध्य भएका छन् । बाढीबाट विस्थापित स्थानीयले तत्काल राहतसँगै सुरक्षित बस्ती निर्माण र नदी नियन्त्रणका लागि सरकारसँग माग गरेका छन् ।
माछाखोलाका स्थानीय व्यापारी लालप्रसाद गुरुङका अनुसार बाढीले उनको गोदाममा मात्रै करिब दुई करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ । लामो समयदेखि व्यापार व्यवसाय गरेर जम्मा गरेको सम्पत्ति बाढीले एकैपटक बगाएपछि उनी आर्थिक संकटमा परेका छन् ।
‘१५-२० वर्षदेखि दुःख गरेर अलिअलि जम्मा गरेको पैसा व्यापारमा लगानी गरेका थियौँ । अहिले सबै शून्यमा झारिदियो ।’, गुरुङले भने, ‘हामीले जानाजान कुनै बेथिति गरेका होइनौँ । अब फेरि कसरी उठ्ने भन्ने चिन्ता छ । सरकारले सहयोग गरिदिए हुन्थ्यो ।’
उनका अनुसार माछाखोलाका अर्का व्यापारी धनकुमार गुरुङको करिब ५ देखि ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, स्थानीयका अनुसार माछाखोलाका ठूला व्यापारीमध्येका एक बिश गुरुङको गोदाममा करिब १० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । यी क्षतिको विस्तृत विवरण भने सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ ।
बाढीले स्थानीय बस्तीसमेत प्रभावित पारेको छ । गुरुङका अनुसार तीन-चारवटा घर बगाएका छन् भने केही परिवार विस्थापित भएका छन् । घर गुमाएका स्थानीय अहिले छिमेकी तथा आफन्तको आश्रयमा बसिरहेका छन् ।
बाढी आउनुअघि माथिल्लो क्षेत्रबाट फोनमार्फत बस्ती छाडेर भाग्न खबर आएको गुरुङले बताए । बाढीको जोखिमबारे सूचना पाएपछि उनीहरू चप्पल मात्रै लगाएर घरबाट निस्किएका थिए । हतारमा ज्यान जोगाउन भाग्नु परेकाले आफ्नो गोदाम र सामान कसरी बग्यो भन्ने कुरा समेत थाहा पाउन नसकेको उनले सुनाए ।
‘फोन गरेर बस्ती बग्न लागेको छ, छिटो भाग्नु भनेपछि हामी चप्पल मात्रै लगाएर भाग्यौँ । सामान कसरी बगायो भन्ने पनि थाहा पाएनौँ ।’, उनले भने ।
बाढीपछि सुरुका दिन आफन्तको घरमा बसेका स्थानीय एक-दुई दिनपछि आफ्नै घर फर्किएका थिए । लामो समयसम्म अरूको घरमा बस्न कठिन हुने र तत्काल अन्यत्र बस्ने व्यवस्था नहुँदा जोखिमको चिन्ताबीच घर फर्किनुपरेको गुरुङले बताए ।
बाढीले माछाखोलाबाट धार्चे गाउँपालिका–२ केरौँजा जाने पुलसमेत पूर्ण रूपमा क्षति पुर्याएको छ । उक्त पुल पुनर्निर्माणका लागि दसैँ-तिहारलगत्तै झोलुङ्गे पुल निर्माण गर्ने विषयमा कुरा भएको गुरुङले जानकारी दिए। तर, पुल निर्माणको औपचारिक निर्णय र काम सुरु हुने समयबारे भने सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ ।
बाढी प्रभावितलाई गाउँपालिकाले राहत उपलब्ध गराउन थाले पनि तत्काल घर गुमाएका परिवारलाई प्राथमिकता दिइएको र व्यापारिक गोदाममा भएको क्षतिबारे भने अन्योल रहेको गुरुङको भनाइ छ । गाउँपालिकाबाट व्यवसायीले कस्तो सहयोग पाउने भन्ने स्पष्ट आश्वासन नपाएको उनले बताए । उनले राहत रकम मात्रै नभई भविष्यमा यस्ता विपद्बाट सुरक्षित हुने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । माछाखोलाको तल्लो क्षेत्रका बस्ती जोखिममा रहेकाले आवश्यक परे बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने वा नदी नियन्त्रणका लागि ग्याबियन वाल निर्माण गर्नुपर्ने उनको माग छ ।
‘राहतभन्दा पनि हामीलाई साहस र सुरक्षित हुने आधार चाहिएको छ। ग्याबियन वाल लगाइदिएर बस्ती सुरक्षित हुने महसुस गराउन सके राम्रो हुन्थ्यो ।’, गुरुङले भने ।
बाढीबाट घर र व्यापार गुमाएका स्थानीयले अहिले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना, क्षतिको उचित मूल्याङ्कन, व्यापार पुनःसञ्चालनका लागि सहयोग तथा नदी नियन्त्रणको व्यवस्था गर्न माग गरेका छन् । उनीहरूका अनुसार तत्काल सुरक्षित बस्ती र जीविकोपार्जनको आधार निर्माण गर्न नसके बाढीबाट भएको आर्थिक तथा सामाजिक क्षतिबाट उठ्न अझ कठिन हुनेछ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्